`

कुलिङ पिरियडमा प्रचण्डलाई योगेश भट्टराईको काउन्टर- ‘छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?’

Nepal One HD ११ साउन २०८२ ११:५७
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

प्रचण्डले कुलिङ पिरियडको व्यवस्थामा छेडखानी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएपछि भट्टराईले प्रचण्डको अडानमाथि नै प्रश्न उठाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले कुलिङ पिरियडको व्यवस्थामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । जवाफमा सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डको उक्त मागलाई ‘आफ्नै बोली गलपासो’ भएको टिप्पणी गर्दै प्रश्न उठाएका छन् ।

उनले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालमाथि यस प्रकरणमा तीन वटा कारणले छानबिन गर्न माग गरेका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन् , ‘२०८० फागुन ११ गते तपाईं स्वयं प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको थियो, जसमा कुलिङ पिरियडको कुनै व्यवस्था थिएन। त्यतिबेला तपाईं कुलिङ पिरियडको पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?’

‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंले कुलिङ पिरियड राख्ने निर्णयमा सहमति जनाउनुभएको थियो। तर, समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्था किन तलमाथि भयो ? के यसमा तपाईंमाथि पनि नैतिक प्रश्न उठ्दैन ? छानबिन त तपाईंमाथि नै गर्नुपर्ने हो कि ?’ उनले प्रचण्डमाथि नै प्रश्न गरेका छन् ।

भट्टराईले कुलिङ पिरियडको व्यवस्था राख्नुपर्ने पक्षमा आफूहरू कायम रहेको र यो विषयमा सांसदहरूले नै संशोधन प्रस्ताव राखेको स्मरण गराए। उनले प्रचण्डको आरोपलाई ‘राजनीतिक स्वार्थले प्रेरित’ भन्दै तथ्यमा आधारित जवाफ दिन आग्रह गरेका छन्।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था राख्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो। यद्यपि, यो व्यवस्था हटाउने प्रयास भएको भन्दै सांसदहरूले विरोध जनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *