मधेश प्रदेशमा घरधुरी बिमा र नागरिक बिमा कार्यक्रम सुरु


जनकपुर – मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक कुनै प्रदेशमा नभएको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेको छ । मधेश प्रदेश सरकारले ‘घरधुरी बिमा’ र ‘नागरिक बिमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बिमाको दायरामा ल्याइएको छ ।
बिमा कार्यक्रमअन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बिमा सुरक्षा सुनिश्चित गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
घरधुरी बिमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरीलगायत प्राकृतिक विपद्बाट हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराइनेछ । उक्त बिमामा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बिमा सुविधा रहेको छ ।
त्यस्तै, नागरिक बिमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बिमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बिमाको लाभ लिन सक्ने छन ।
यतिसम्म की भारतमा पनि दुर्घटनामा परेर मृत्यु हुन पुगेको खण्डमा नागरिक बिमा तहत मधेश प्रेदेश सरकारले तोकिएको बिमा कम्पिनीबाट १० लाख रुपैयाँ उपलब्ध गराइने मुख्यमन्त्री सिंहको भनाइ छ ।
त्यस्तै, सरकारले बिमा दाबी प्रक्रिया पारदर्शी र सहज बनाइएको जनाएको छ । पीडितले बिमा दाबी गर्न साक्ष्यसहित निवेदन, प्रहरीको प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण पेश गर्नुपर्नेछ ।
यस्तो कार्यविधिले राहत प्रक्रिया सरल हुने विश्वास लिएको मुख्यमन्त्री सिंहको दाबी छ । घरधुरी बिमा र नागरिक बिमा कार्यक्रम साउन १ गतेदेखि नै लागु भइसकेको छ ।