मधेश प्रदेशमा डिपबोरिङ खन्ने काम सुरु, किसानका लागि प्रतियुनिट ३ रुपैयाँमा बिजुली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा ५०० बोरिङ खन्ने काम शुरु भएको बताएका छन् ।
पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो निर्णय लिएकाले हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । ‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन ।
प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। यसबाट भूमिगत पानीको प्रयोग गरेर वर्षभरि खेती सम्भव हुने वातावरण निर्माण हुने छ। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ।
तराईका धेरै भूभागमा जमिन खेतीयोग्य भए पनि सिँचाइको स्थायी पहुँच नहुँदा किसानहरू मौसममा भर पर्न बाध्य छन्। यस वर्ष वर्षात् नभएको कारण किसानले लगाएको धान डढेर गएको छ । यस्तो अवस्थामा डिप बोरिङमार्फत भू–जल उपयोग गरेर कृषिमा सुधार ल्याउने योजना अघि बढाइएको हो।