पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु


त्रिशूली (नुवाकोट), १६ साउनः विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो ।
पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान)मार्फत छाना (झिङ्गटी) निकाल्ने कार्य सकिएर माथिल्लो तला हटाउन थालिएको छ ।
“पुरातात्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितिमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “भत्काउने क्रममा दरबारमा प्रयोग भएका झिङ्गटी, झ्याल, बुर्जा, बार्दलीलगायत सामग्रीको संरक्षणका लागि सोहीअनुसार प्रबन्ध मिलाइएको छ ।”
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले नुवाकोट राज्यमाथि १८०१ सालमा विजयी हासिल गर्नुभएको थियो । त्यसपश्चात उहाँले निर्माण गर्न लगाउनुभएको उक्त साततले दरबार १० वर्षअघि २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको हेरचाह कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।
साततले दरबार पुनर्निर्माणका क्रममा पुनर्निर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र एकिन हुने चिनियाँ पक्षले जनाएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
“अहिलेको प्राविधिक अध्ययनअनुसार दरबारको जग सतहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययनपश्चात् दरबार पूरै भत्काउने वा जोखिम भएका तलाहरू हटाई सोही ठाउँबाट पुनर्निर्माण गरिने भन्ने विषयमा आगामी दिनमा निर्णय लिने चिनियाँ पक्षले जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।
भूकम्पपछिको पुनर्निर्माणका क्रममा चिनियाँ सहयोगअन्तर्गत चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजमार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित आठवटा संरचनाको पुनर्निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्निर्माणअन्तर्गत भूकम्पले पूर्णक्षति बनाएको लिच्छविकालीन तुलजा भवानी (तलेजु)को मन्दिर पूरै भत्काइएको छ ।
हाल उक्त स्थानमा भेट्टिएका पुरातात्विक सम्पदासँग सम्बन्धित विषयमा अध्ययन भइरहेको दरबार हेरचाह कार्यालयका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अध्ययनपश्चात् तलेजु मन्दिरको नयाँ निर्माण पहिलाजस्तो थियो सोहीअनुसार हुनेछ ।
साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण विसं २०८३ असोजभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी निर्माण गरिने चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले प्रतिबद्धता जनाएको छ । बाँकी छवटा धार्मिक, सांस्कृतिक एवं पुरातात्विक संरचनाको निर्माण त्यसपछि सुरु हुने समझदारी भएको छ । ती सबै पूर्णक्षति भएकाले नयाँ निर्माण गर्न लागिएको हो ।
भूकम्पले क्षति पुगेको साततले दरबार, तुलजा भवानीको मन्दिरसहित गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, नारायण र विष्णु मन्दिरको पुनर्निर्माण चीन सरकारको सहयोगमा भइरहेको पाण्डेले जानकारी दिनुभयो ।