‘शिशुको पहिलो खोप नै आमाको दूध हो’


काठमाडौँ, १६ साउन : आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ ।’
आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण पोषण हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सुझावअनुसार छ महिनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपानमात्र गराउनुपर्दछ । त्यसपछि दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस आहारका साथ स्तनपान गराइरहनु पर्दछ ।
स्तनपानले बच्चाका लागि पूर्ण पोषण प्रदान गर्छ । बच्चालाई सङ्क्रमण र रोगबाट जोगाउँछ । यसैगरी आमाको स्वास्थ्यलाई प्रवर्द्धन गर्नुका साथै आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउँछ ।
परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आमा र बच्चा दुवैको स्वास्थ्यका लागि स्तनपान अति आवश्यक रहेको बताउनुभयो । उहाँले स्तनपानको महत्त्व दर्शाउँदै भन्नुभयो, “जन्मिनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । यसैगरी शिशुका लागि पहिलो खोप नै आमाका दूध हो । यसले शिशुको मृत्युदर घटाउनुका साथै शिशुको बौद्धिक विकासमा मद्दत गर्दछ । शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ । कम्तीमा दुई वर्षसम्म स्तनपानसँगै थप आहार खुवाउनुपर्दछ ।”
पोषण शाखा प्रमुख थापाले सरकारले स्तनपानलाई संरक्षण, संवर्द्धन र सहयोग गर्नलाई विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) व्यवस्था गरेअनुरूप सात सय ५३ स्थानीय तहमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई निरीक्षण गर्ने निरीक्षक तोकिएको छ । ऐन कार्यान्वनयनको निरीक्षण गर्ने र सूसुचित गर्ने काम उहाँहरूको हो ।” यसैगरी उहाँले प्रसूति बिदा, स्तनपान कक्ष निर्माण गरेर पनि स्तनपानलाई प्रोत्साहन गरिरहेको बताउनुभयो ।
बालबालिकालाई छ महिना पूरा भएपछि उमेरअनुसार पूरक खानाका साथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्ने हुन्छ । स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई पनि कम गराउन सहयोग पुग्छ ।
सरकारले प्रयास गरिराखेको बताए पनि स्तनपान दर भने घट्दै गएको देखिन्छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउन गरेको देखाएको छ । सन् २०१६ को सर्वेक्षणमा यसको दर ६६ प्रतिशत रहेको थियो । सर्वेक्षणका अनुसार छ महिनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन ।