०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ?देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन,’ ओलीले भने, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’
राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले आफूहरूलाई यो प्रणाली ज्यान सरह प्रिय रहेको बताउँदै यसको जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर रहेको बताए । ।
‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौँ । कति लोकतन्त्रको संवर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौँ,’ ओलीले बताए ।