`

विचित्रा खोलामा आएको बाढी बस्तीमा पस्दा १० घर डुबानमा

Nepal One HD ३१ साउन २०८२ १९:५३
समाज

सिन्धुली, ३१ साउनः यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते हुनुभएको छ ।आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो । अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते हुनुभएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

डुबानले दनुवारको घर, गाईगोठ, ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, सङ्गीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एक तले घरमा बाढी पसेको उहाँले जानकारी दिनुभयो । बस्तीमा बाढी पसे पनि मानवीय क्षति भने नभएको र पीडितहरूका लागि अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा सञ्चालन हुने सवारीसाधनलाई भदौ १ गते देखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा पुनः रोक लगाइएको जानकारी दिनुभयो ।स्थानीय प्रशासनले गत साउन १ गतेदेखि रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *