श्रीलङ्काका मोस्ट वान्टेड ‘केहलबड्डारा पद्मे’ इन्डोनेसियाबाट पक्राउ


श्रीलङ्काका ‘मोस्ट वान्टेड’ अपराधी मन्दिनु पद्मसिरी परेरा, उर्फ ‘केहलबड्डारा पद्मे’, पाँच जना अन्य आपराधिक गिरोहका सदस्यहरू सहित इन्डोनेसियाबाट पक्राउ गरिएको श्रीलङ्का प्रहरीले जनाएको छ ।
उनीहरूमाथि देशभर विभिन्न जघन्य आपराधिक घटनाहरूमा संलग्न भएको आरोप लागेको छ । परेरामाथि विशेष रूपमा यस वर्ष फेब्रुअरीमा कोलम्बोको एक अदालत परिसरमा भएको हत्या काण्डको योजना बनाएको आरोप छ । साथै, उनीमाथि दर्जनभन्दा बढी हत्या, लागूऔषध कारोबार र आपराधिक गिरोह सञ्चालनको अभियोग लागेको प्रहरीले जनाएको छ ।
शनिबार राति उनीहरूलाई व्यावसायिक उडानमार्फत कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । उनीहरूको सुरक्षार्थ इन्डोनेसियाली अधिकारी सहित श्रीलङ्काली सुरक्षाकर्मीहरूको टोली खटाइएको थियो । सार्वजनिक सुरक्षा मन्त्री आनन्द विजेपालाले सञ्चारकर्मीहरूसँग भने,“देशका लागि दीर्घकालीन सुरक्षा चुनौती बनेको आपराधिक गिरोहलाई नियन्त्रणमा लिन सहयोग पु¥याएकोमा म इन्डोनेसियाली सरकार र प्रहरीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”
यस अपरेसनमा इन्डोनेसियाली प्रहरीसँगै श्रीलङ्काका दुई प्रहरी अधिकारी र भारतीय गुप्तचर संस्था पनि सहभागी थिए । जकार्तामा बिहीबार गरिएको उक्त संयुक्त अपरेसनमार्फत परेरा सहित अन्य पाँच जना पक्राउ परेका थिए । गिरोहमा संलग्न एक श्रीलङ्काली महिला सदस्यलाई भने एक दिनअघि नै पृथक उडानमार्फत फिर्ता ल्याइएको थियो ।
श्रीलङ्काको प्रहरीले यो अपरेसनलाई हालसम्म विदेशमा लुकेर बसेका श्रीलङ्काली अपराधीहरूलाई नियन्त्रणमा लिन गरिएको सबैभन्दा ठूलो कारबाही भएको जनाएको छ ।
प्रहरी तथ्याङ्क अनुसार, सन् २०२५ को सुरुदेखि हालसम्म श्रीलङ्कामा ८० वटा गिरोहबीचको गोलीकाण्डमा ४२ जनाको ज्यान गइसकेको छ ।