बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात


म्याग्दी (बेनी), १७ भदौः जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका-२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका-६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।
“दुवै जनाले बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किए पनि आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ बन्द (स्विचअफ) भएपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले भन्नुभयो ।
बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यका आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको देखिएको उहाँले बताउनुभयो । उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजीकार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उहाँहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी सुरु गरिएको छ ।
मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको बताउँदै उहाँले रातिको समय भएकाले प्रत्यक्षदर्शीसमेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकीन गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो ।
सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उहाँहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको नसकेको पैडेलले जानकारी दिनुभयो ।