`

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

Nepal One HD १९ भदौ २०८२ २०:२४
नेकपा एमाले

काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न भोलिदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ ।

महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आउनेक्रम जारी छ ।

एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा–१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ ।

विधानअनुसार विधान महाधिवेशनले महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने उल्लेख छ ।

एमाले महासचिव शङ्कर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने बताउनुभयो । “यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ”, उहाँले भन्नुभयो, “राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ ।”

एमालेले नवौ राष्ट्रिय महाधिवेशनपछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पनि यसअघि नै विधान महाधिवेशन आयोजना गरेको थियो । यो महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

महाधिवेशन जानेबाटो सातदोबाटोदेखि गोदावरीसम्म जाने बाटो झकिझकाउ बनाएको छ । उक्त सडकखण्डमा करिब १८ वटा झकिझकाउ स्वागतद्वार निर्माण गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । दायाँबायाँ बिजुलीका खम्बामा नेकपा (एमाले)को हसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झण्डाले सिँगारिएका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनस्थल गोदावरी सनराइज सभाहललाई सिँगारिएको छ ।

पार्टीको पाँचाँै महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सम्मेलनलाई डिजिटल सिस्टममा जोडिएको बताउनुभयो ।

सनराइज सम्मेलन केन्द्रभित्र छिर्ने चार वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नुहुनेछ । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन् ।

भित्र प्रवेश गर्नका लागि परिचय स्क्यान गर्नुपर्नेछ । यसका लागि छ वटा कम्प्युटरका बुथ रहनेछन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकले प्रवेश पाउनेछन् । मूल प्रवेश द्वारबाट प्रवेश गर्दा हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अङ्कित झण्डा लहरै फहराएका हुनेछन् ।

हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अङ्ग्रेजीमा ‘सिपिएन युएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलेको पनि देख्न पाइनेछ । साथै नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ ।

मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्नेछन् । मञ्चमा दुई खण्ड बनाइएको छ । अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नुहुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगकातर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगकातर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

महाधिवेशन पहिलो दिन प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने एमाले प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि सातदोबाटो चोकबाट महाधिवेशनस्थलसम्म यातायातको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *