`

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच कार्यसम्पादन सम्झौता

Nepal One HD २० भदौ २०८२ २१:४५
जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २० भदौ : स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग आज कार्यसम्पादन सम्झौतामा गरेको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने सम्झौताको मुख्य लक्ष्य रहेको बताउनुभयो । “यो सम्झौता केवल केही बुँदाहरूको सूचीमात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशिला हो । यसको पूर्ण कार्यान्वयनले स्वास्थ्य प्रणालीको संस्थागत विकास, जवाफदेहिता र पारदर्शी कार्ययोजना तथा तथ्याङ्कमा आधारित व्यवस्थित स्वास्थ्य प्रणालीको स्थापित हुनेछ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य सचिव डा विकास देवकोटाले उक्त सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले प्रतिष्ठानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । सम्झौतालाई मन्त्रालय र प्रतिष्ठानहरूको साझा लक्ष्यको दस्तावेजका रूपमा व्याख्या गर्दै यसको सफलताका लागि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उक्त सम्झौतामा अस्पतालको सेवा प्रवाहलाई डिजिटलाइज गर्ने, बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने, औषधि आपूर्तिलाई सहज बनाउनेदेखि लिएर हरेक प्रतिष्ठानका लागि विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्नेसम्मका दर्जनौँ बुँदाहरू समावेश गरिएका छन् । मन्त्रालयले अब यस सम्झौताको कार्यान्वयनको निरन्तर अनुगमन गरी मूल्याङ्कन गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *