`

जेनजीको प्रदर्शन : बानेश्वरमा चार पत्रकारलाई लाग्यो गोली

Nepal One HD २३ भदौ २०८२ १४:१४
प्रमुख खबर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेर नेपाल वान एचडीका नरेश खतिवडासहित चार जना घाइते भएका हुन् । उनीहरु समाचारका लागि फोटो, भिडियो खिच्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका हुन् ।

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो । यस्तै प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

यस्तै आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो । यस्तै प्रहरीको रबर बुलेटबाट तीन जना प्रदर्शनकारी घाइते भएका छन् । कफ्र्यू आदेश कार्यान्वयनको शीलशीलामा प्रहरीले रबर बुलेट चलाउँदा तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा निषेधित क्षेत्र तोडेर संसद भवन परिसर भित्र छिर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *