स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह


काठमाडौँ, २५ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह गरेको बताउनुभएको छ ।
आयोगले वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने बताउनुभयो । “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतःजनताका हकअधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनु पर्दछ”, आयोगले भनेको छ ।
आयोगले देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबैपक्ष संयमित हुनु पनि आग्रह गरेको छ ।
“विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुःखद् घटनाप्रति सबैको चिन्ता हुनु स्वाभाविकै हो । अब यसप्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ”, आयोगले अगाडि भनेको छ ।
आयोगले सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्योलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको भन्दै यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको बताएको छ ।
आयोगका प्रवक्ता डा पोखरेलले काठमाडौँलगायत देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ ।
उहाँले देशका विभिन्न सहरमा भएको दुई दिनको प्रदर्शनपश्चात् लागेको निषेधाज्ञाको समयमा समग्र मानवअधिकारको स्थिति एवं मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको जनाउनुभएको छ ।