समझदारी बने पनि के मा अड्कियो कार्कीको नियुक्ति ?


काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन प्राय सबैतिरबाट समझदारी बनेको छ । तर, प्रक्रियाको विषयले कार्कीको नियुक्ति अझै अड्किएको छ । कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियाको विषयमा शीतलनिवास अझै अलमलमा देखिएको छ ।
संसदको हैसियत के हुने भन्ने विषयमा गएर नियुक्ति प्रक्रिया अड्किएको शीतलनिवास स्रोत बताउँछन् । जेनजीका तर्फबाट संसद विघटन गर्नुपर्ने दबाब छ । संसद विघटन नगरे अन्तरिम सरकार गठनको बाटो नखुल्ने यस पक्षको तर्क छ ।
बिहीबार राष्ट्रपतिले संविधानविद्, प्रमुख दलका नेता तथा सभामुखसँग परामर्श गरेका थिए । संविधानविदहरूले ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी राष्ट्रपतिले संविधानको पालक र संरक्षकको भूमिका खेल्न सक्ने’ र ‘राष्ट्रपति पदसँगै इमर्जेन्सी लाइन बाल्ने अधिकार अन्तरनिहित हुने’ परामर्श दिएका थिए ।
हालको कामचलाउ सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने र त्यसै आदेशअनुसार आगामी प्रक्रिया अघि बढाउने तयारीमा शीतलनिवास लागेको थियो । तर, संसद विघटन गर्नैपर्ने जेनजीको अडान र विघटन गर्दा आउन सक्ने अवगालको राष्ट्रपतिमा देखिएको भयमा अहिलेको गाँठो कस्सिएको छ । यही गाँठो फुक्न नसकेकै कारण नयाँ प्रधानमन्त्री नियुक्ति टुङ्गोमा पुग्न सकेको छैन ।
आज पनि राष्ट्रपतिले विभिन्न पक्षसँग परामर्श जारी राखेको शीतलनिवास स्रोतले जानकारी दिएको छ । तर अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम पछाडि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो ।