प्रधानमन्त्री कार्कीसँग मेयर हमालको माग : भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी जेल हाल्नुस्


काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । उनले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री दुवै बनेर इतिहास रचेको भन्दै प्रशंसा समेत गरेका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत हमालले नयाँ सरकारसमक्ष केही महत्वपूर्ण मागहरू राखेका छन् । उनको मुख्य जोड भ्रष्टाचार नियन्त्रणमा दिनुपर्ने सुझाव समेत दिएका छन् । उनले भनेका छन, ‘भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन । सुशासन नभएसम्म देशले प्रगति गर्दैन ।’
हमालले प्रधानमन्त्री कार्कीसँग एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्न माग गरेका छन् । उनले यो जेनजी आन्दोलनको पनि मुख्य मुद्दा रहेको बताएका छन् ।
उनले आन्दोलनमा शहीद भएका र घाइतेहरूको अवस्थाबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् । हमालले शहीदको संख्याबारे अन्योल रहेको भन्दै सरकारले सही तथ्याङ्क, उनीहरूको नाम, ठेगाना र घाइतेहरूको उपचारको अवस्था सार्वजनिक गर्नुपर्ने बताएका छन् । हमालले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको कामना गर्दै नेपालको विकास र सुशासनका लागि महत्त्वपूर्ण काम हुने आशा व्यक्त गरेका छन् ।
हेर्नुस् हमालको आग्रह
नमस्कार
म धनगढी उपमहानगरपालिकाको नगर प्रमुख गोपाल हमाल ।
सर्वप्रथम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई दिन चाहन्छु । साथै नेपालले पहिलो महिला प्रधानन्यायाधीश पनि सुशीला कार्कीज्यूबाटै प्राप्त गरेको थियो भने पहिलो प्रधानमन्त्री, महिला प्रधानमन्त्री पनि सुशीला कार्की ज्यू भएको छ । त्यसकारण एउटा इतिहास रच्नुभएको छ ।
अब इतिहास रच्ने पालो हो । मुख्य कुरा यो देशमा बेरोजगारी सिर्जना हुनु र विधिको शासन नहुनु मुख्य भनेको भ्रष्टाचार हो । जेन्जीको आन्दोलन पनि मुख्य विषय यही नै थियो । भ्रष्टाचार रहेसम्म सुशासन हुँदैन । सुशासन नभएसम्म देशले प्रगति गर्दैन ।
तसर्थ, एक हप्ताभित्र कम्तीमा भ्रष्टाचारीहरूलाई अभियोगसहित यिनको सम्पत्ति राष्ट्रियकरण गर्ने, यिनीहरूलाई अभियोग चलाउने, मुद्दा चलाउने, यिनीहरूलाई जेलमा हाल्ने काम गरियोस् भन्ने माग गर्न चाहन्छु ।
साथै शहीदको आँकडा एकदमै गलत आएको छ । कसैले भन्छ १०० जना भयो यिनीहरू बिते, तर ५१ को मात्रै आएको छ अहिले। सरकारले पुष्टि गरोस् । कहाँ–कहाँ, कुन–कुन जिल्ला, कुन–कुन ठाउँको व्यक्ति को–को कहाँ शहादत प्राप्त गरेँ ? त्यसको सार्वजनिक गर्न पनि अनुरोध गर्न चाहन्छु ।
अहिले घाइतेहरू के अवस्थामा छन् ? उनको उपचारको लागि के भइराछ ? कस्तो भइराछ ? कति जना खतरामुक्त छन् ? कति जना चाहिँ वास्तवमा सिरियस छन् ? एउटा अन्योलको वातावरण सिर्जना भएको हुनाले नयाँ अन्तरिम सरकारको प्रमुख, प्रधानमन्त्रीज्यूलाई अनुरोध पनि गर्न चाहन्छु कि यो पनि सार्वजनिक होस् । यो कार्यमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । नमस्कार !