जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने


काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।
उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए।
ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको उनको भनाइ छ।
यस्ता रकम अर्थमन्त्रालयमार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेछ। ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि आजको बैठकले गरेको अर्यालले जानकारी दिए।
घाइतेहरूको नि शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ। त्यस्तै जेनजी आन्दोलनमा दमन भएको भनिएको र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।