`

संविधान दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्दै प्रमुख दलहरू

Nepal One HD २ असोज २०८२ १४:१४
प्रमुख खबर

काठमाडौँ । कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी संविधानको पक्षमा राजनीतिक गतिविधि सुरु गरेका छन् । उनीहरूले संघदेखि स्थानीय तहसम्म असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेका छन् ।

उनीहरूले प्रतिनिधिसभा विघटन भएपछि संविधान कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै संविधानको पक्षमा उभिने निर्णय गरेका हुन् ।

२०७२ असोज ३ मा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । जेन-जी आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि दलहरू संविधान बचाएर मात्र अघि जान सकिने निष्कर्षमा पुगेका छन् ।

कांग्रेसले संविधान दिवस मनाउन संगठनहरूलाई निर्देशन दिएको छ । उपसभापति पूर्णबहादुर खड्काले बुधबार केन्द्रीय कार्यालको निरीक्षणका क्रममा देशव्यापी रूपमा शान्त तरिकाले संविधान दिवस मनाउने बताए । कांग्रेसले संविधान दिवसका अवसरमा छलफल, बहस गर्न लागेको हो ।

एमालेले पनि तल्ला कमिटीहरूमा आन्तरिक सर्कुलर पठाउँदै संविधाधन दिवस मनाउन निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएकाले सबै संगठनलाई यसमा केन्द्रित हुन निर्देशन दिएका छन् । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौं र बनाऔं,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसागको सम्बन्ध र सहकार्यमा जोड दिऔं ।’

एमालेले काठमाडौंमा आगजनीबाट ध्वस्त भएको केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । ‘संविधान दिवसको तयारीमा देशभरको संगठन लागेको छ । संविधानको रक्षा गर्ने पार्टीको मुख्य कार्यभार भएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

त्यस्तै माओवादीले जेन-जी आन्दोलनमा मारिएका व्यक्तिको स्मरण गर्दै देशव्यापी रूपमा संविधान दिवस मनाउन निर्देशन दिएको छ । हरेक पालिकासम्म जेन-जी आन्दोलनमा मृत्यु हुनेको सम्झना र सम्मानमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने माओवादीले जनाएको छ । ‘वडातहसम्म संविधान दिवस मनाउने तयारी गरेका छौँ,’ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘संविधानको जगमा टेकेर नै यसलाई बलियो र समृद्ध बनाउन सकिन्छ ।’

एकीकृत समाजवादीले पनि देशव्यापी रूपमा संविधान दिवस मनाउन निर्देशन दिएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले संविधान रक्षाको विषय प्राथमिकतामा रहेकाले यसको पक्षमा उभिनुपर्ने आवश्यकता भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *