कामपाद्वारा २० हजार बिद्यार्थीलाई सवा दुई अर्बको छात्रवृत्ति वितरण
काठमाडौं । काठमाडौं महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजार बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । मेयर बालेन शाहले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कानून कार्यान्वायनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष २० हजार दुई सय ८२ जनाले छात्रवृत्ति पाएका छन् ।
महानगरअन्तर्गतका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने कानूनलाई लागू गर्दा २० हजारभन्दा धेरै विद्यार्थीले सवा दुई अर्बको छात्रवृत्ति पाएका हुन् । नियमअनुसार छात्रवृत्ति नदिने शैक्षिक संस्थालाई कारबाही गरिने बालेनको चेतावनी छ ।
यस शैक्षिक सत्र २०८२ मा हालसम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ, जसअनुसार १६,९८० जनाले छात्रवृत्ति पाएका हुन्।केही बिद्यालयले हालसम्म विवरण बुझाएका छैनन् ।
‘उहाँहरुलाई यथाशिघ्र विवरण बुझाउन अनुरोध गर्छौ, विवरण पेस नगर्ने बिद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ बालेनले लेखेका छन् ।
प्राप्त भएको विवरणको पनि महानगरले अनुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् । ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं,’ उनले भनेका छन् ।
