तुइनखोलामा फेरि खस्यो ठूलो पहिरो, यातायात अनिश्चितकाललाई बन्द


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि ठूलो पहिरो खसेको छ ।
मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको उनले बताए ।
पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।
ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको उनले बताए । तुइनखोलामा शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह उक्त स्थानमा पहाड नै पल्टिएर सडकमा थुप्रिएको छ। डोजर लगाएर यसअघि खसेको ढुंगामाटोको थुप्रो पन्छाइरहेका बेला खसेको पहिरो एकदमै ठूलो रहेको उनले बताए । उक्त पहिरो तत्काल पन्छाउन असम्भव भएपछि अनिश्चितकाललाई यातायात बन्द भएको हो ।
गत शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध भएपछि अहिले पनि दशैँमा घर हिँडेका हजारौँ यात्रुहरू अलपत्र परेका छन् । सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ ।