अर्को सरकार आएको भोलिपल्ट पद छाड्छु : मनोज सिलवाल


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले अर्को सरकार आएको भोलिपल्टै आफूले पद छोड्ने बताएका छन् । सिलवालले राजनीतिक नियुक्तको अर्थ आफूले बुझेको बताउँदै विद्युत प्राधिकरणमा अहिले काम गर्न सबैभन्दा सहज र अनुकूल अवस्थामा रहेको बताए ।
आफू सधैँ प्राधिकरणमा रहन्छु भनेर नआएको पनि सिलवालले बताए । राजनीतिक नियुक्तिको कुनै पनि निश्चित अवधि नहुने उनको भनाइ छ । ‘म सधैँ बस्छु भनेर आएको होइन । राजनीतिक नियुक्तिको अर्थ बुझेको छु । यसको अवधि हुँदैन । लोकसेवा दिएर ४ वर्ष बस्छु भनेर आएको होइन । जति दिन बस्छु, काम गर्छु । काम गर्न नसकेको दिन साथी हो, मैले सकिनँ भनेर छोडेर हिँड्छु । तर, त्यो अवस्था आउँदैन । यदि अर्को सरकार आयो भने निरन्तरता दिउँ कि छोडौं भन्ने सोध्छु र भोलिपल्टै म छोड्छु । म फोटो टाँस्न आएको होइन । आफै मूल्यांकन गर्नुस् । बस्दा राम्रो काम गरेँ भने फोटो टास्नुस्, नत्र टाँस्नु पर्दैन ।’
उनले भने, ‘प्राधिकरणमा ८ वर्ष कार्यकारी निर्देशक रहनु भएका कुलमान घिसिङ मन्त्री हुनुहुन्छ । त्यसैले नेपाल सरकारबाट पनि पर्याप्त सहयोग हुन्छ । यस्तो सहज परिस्थिति शायद भविष्यमा नहोला । काम गर्नका लागि एकदम सहज छ। यो परिस्थितिको फाइदा उठाउनु पर्छ ।’