काठमाडौं प्रशासनले भन्यो–रातको समय काठमाडौं आवातजावत नगर्नू


काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले अनावश्यक रूपमा यात्रा नगर्न र विपद् अवस्थामा प्रहरी सम्पर्क गर्न सुझाएका छन्। जिल्ला प्रशासनले सबैलाई असोज २० गतेसम्म आ–आफ्नो स्थानमा रही सतर्कता अपनाउन र लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ ।
‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ’ सूचनामा उल्लेख छ। विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचनाअनुसार आजदेखि यही असोज २० गते सम्म काठमाडौंमा भारी वर्षा हुने सम्भावना छ ।
वर्षाबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपतजन्य घटनाहरू घट्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न भनेको हो । असोज २० गतेसम्म आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन भनिएको छ । अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ ।