`

पार्टी एकताबारे प्रचण्ड : माधव नेपाल र महिन्द्र यादव सकारात्मक, विप्लव तयार छैनन्

Nepal One HD २० असोज २०८२ १७:२१
बिशेष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । बैठकले विपद् प्रतिकार्यमा खटिइएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताए । बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए । उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पहलको कदम सकारात्मक रहेको बताएका छन् । त्यस्तै प्रचण्डले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको विषय सकारात्मक रहेको बताए ।

‘समाजवादी मोर्चामा भएका सबैसँग पार्टी एकताका निम्ति पहल गर्ने काम भइरहेकै छ,’ प्रचण्डलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘माधव नेपाल र महिन्द्र रायहरूसँग एकताको विषय सकारात्मक छ ।’ त्यस्तै प्रचण्डले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भने अहिले एकता प्रक्रियाको सुरुवात नै नभएको ब्रिफिङ गरेका छन् । बैठकमा प्रचण्डले भने, ‘विप्लव चाहिँ अहिल्यै पार्टी एकता गरेर जाने विषयमा त्यति धेरै तयार भई नसकेकोले संवाद जारी राख्ने कुरा भइरहेको छ ।’

बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए ।

‘चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दै छन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ’, संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘निर्वाचन सम्पन्न गरेर मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।’

बैठकमा महाधिवशेनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, संगठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *