अहिलेको परिस्थिति सम्हाल्न चुनावको विकल्प छैन : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज चितनवमा पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।
संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।’
उनले थपे, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’ संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनले बताए । यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, संयोजक दाहालले भने ।
