रविन्द्र मिश्र भन्छन् – हाम्रो पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो छैटौं कृति ‘माथिको आदेश छ हिरासतमा कविता’ सार्वजनिक गरेका छन् ।शनिबार राजधानीमा आयोजित विशेष समारोहकाबीच उनले कृतिको लोकार्पण गर्दै देशको राजनीतिक, नैतिक र सामाजिक अवस्थामाथि कठोर टिप्पणी गरेका छन् ।
कृति लोकार्पण समारोहमा बोल्दै मिश्रले नेपाली राजनीतिप्रति जनताको विश्वास हराउँदै गएको उल्लेख गर्दै आफूहरुको पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ भएको अभिव्यक्ति दिए ।
उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अत्ति अविश्वासिलो हुन थालिसकेको छ । तर हामीले जेनजी पुस्ताको लागि देश बनाउन योगदान पु¥याउन सक्यौं भने अन्तिम श्वास आनन्दले फेर्न सकिनेछ । नत्र मैले आफ्नो पुस्तालाई सबैभन्दा पापी पुस्ता भन्ने गरेको छु ।’
मिश्रले विगतका पुस्ता अशिक्षित र विपन्न भए पनि नैतिकरूपमा शुद्ध रहेको भन्दै आफूहरुको पुस्ता भ्रष्टाचार र स्वार्थले ग्रस्त भएको बताए ।
उनले भने, ‘हाम्रा बाउबाजेहरू अशिक्षित थिए होला, रुढीवादी थिए होला, विपन्न थिए होलान् तर पतित थिएनन् । तर हाम्रो पुस्ता यस्तो पुस्ता हो जसलाई हाम्रा बाजेहरूको धर्म र नैतिकताको अवधारणाले अलिकति पनि बाध्न सकेन । देशको नियम कानुनले पनि रोक्न सकेन । हामी यस्तो पुस्ताका सदस्य हौं जसले मन्दिर बनाउँदा पनि भ्रष्टाचार गर्छौं ।’
