`

नामावली दर्तामा युवा उत्साहित, हालसम्म कति थपिए मतदाता ?

Nepal One HD २९ कार्तिक २०८२ १०:५४
निर्वाचन विषेश

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशभर मतदाता नामावली दर्ताको माहोल एकाएक तातिएको छ । अनलाइन दर्तामा देखिएको चाप र कार्यालयमा बढ्दो भीडलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले पाँच दिन समय थपेर मंसिर ५ गतेसम्म दर्ता खुला राख्ने निर्णय गरेको छ ।

पहिले कात्तिक ३० गते मै बन्द हुने भनिएको दर्ता अब थपिएको समयसहित निरन्तर सञ्चालन हुने भएको हुँदा ‘यो निर्वाचनमा सम्भवतः सबैभन्दा धेरै युवाको उपस्थिति रहने’ अपेक्षा गरिएको छ । राष्ट्रिय परिचयपत्र भएका सेवाग्राहीका लागि आयोगले बिहीबारदेखि अनलाइनमार्फत नै घरमै बसेर मतदाता नामावली दर्ता गर्ने सुविधा सुरु गरेपछि प्रणालीमा अत्यधिक चाप परेको आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

पहिलो दिनमै हजारौं युवाले अनलाइनबाट दर्ता गर्न खोजेपछि आयोगको सिस्टम केही समय अवरुद्ध समेत भयो, जसले दर्ता कार्य प्रभावित बनायो । अनलाइन दर्ताका लागि सम्बद्ध व्यक्तिले परिचयपत्र नम्बर र जन्ममिति प्रविष्ट गरेपछि सम्बन्धित व्यक्तिगत र बायोमेट्रिक विवरण प्रणालीमै प्राप्त हुने भएकाले उनीहरूलाई निर्वाचन कार्यालय धाउन नपर्ने व्यवस्था मिलाइएको छ ।

परिचयपत्र नभएकाहरू भने अनलाइनबाट आधारभूत विवरण भरेपछि तोकिएको मितिमा नजिकको निर्वाचन कार्यालय पुगेर फोटो तथा औंठाछाप दिई दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । आयोगका अनुसार यसरी मिश्रित मोडेल प्रणाली लागू भएपछि कार्यालयहरूमा देखिने भीड घट्ने, दर्ता प्रक्रिया छिटो हुने र सबै नेपाली नागरिकलाई समयमै मतदाता बन्ने सुनिश्चितता बढ्ने अपेक्षा गरिएको छ ।

९ असोजदेखि २७ कात्तिकसम्म २ लाख ५७ हजार ५०५ नयाँ मतदाता दर्ता भइसकेका छन् । जेनजीको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत मतदाता नामावली संकलन खुला गरेको थियो ।

युवाहरु विशेष गरी पहिलो पटक मतदान गर्न पाउने जेनजी मतदाताहरू ‘मताधिकारबाट बञ्चित हुन नहुने’ भन्दै आक्रामक रूपमा दर्तामा जुटिरहेका छन्, जसले गर्दा यस पटकको चुनाव युवा शक्ति–केन्द्रित सर्वाधिक सहभागिता भएको निर्वाचन बन्ने संकेत देखिएको छ । फागुन २१ को निर्वाचन मिति नजिकिँदै जाँदा दर्ता दर पनि दिन प्रतिदिन बढ्दो छ । आयोगले दर्ता अवधि बढाएसँगै अझ धेरै सेवाग्राही, विशेष गरी देश–विदेशमा रहेका युवाहरूले दर्ता प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *