राष्ट्रिय सभाको उम्मेदवारी दर्ता पुस २३ गते
काठमाडौं । राष्ट्रिय निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनसम्बन्धी निर्णय गर्दै जानकारी दिएको हो ।
आगामी फागुनमा कार्यकाल सकिएर १९ जना राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । त्यसमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतमको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनित गर्छन् ।
रिक्त हुने १८ स्थानका लागि चुनाव गर्ने तयारीमा सरकार जुटेको हो । आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।
आउँदो फागुनमा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन्। बिदा हुने माओवादी सांसदहरूको संख्या ७ छ ।
जसमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिने छ ।

