निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं बार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दे आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ । उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।
यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो ।
निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको थियो । त्यो पत्र बिहीबारको परिषद् बैठकमा छलफल भएको थियो । त्यसपछि परिचालनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो । परिषद् बैठकमा बारामा उत्पन्न तनावबारे पनि छलफल भएको छ ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन जान लागेपछि बुधवारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य भएको छैन ।
एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए । त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतिहरु र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।
