अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
काठमाडौँ – नेपालका पर्यटन उत्पादनको अन्तरराष्ट्रिय बजारमा संयुक्त प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायुसेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति गरेका छन् ।
समझदारीपत्रअनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलनलगायत सबै प्रमुख प्रवर्द्धनात्मक कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन्स’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोग्रामसम्मका प्रवर्द्र्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । दुवै संस्थाले अन्तरराष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् ।
नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत सामग्री उत्पादनलाई पनि नयाँ रूपमा एकीकृत गरिने समझदारीपत्रमा उल्लेख छ । बोर्ड र निगम दुवैले आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने सहमतिसमेत गरेका छन् ।
नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा खेलकुदमा संलग्न व्यक्तिहरु तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ ।
यस सहकार्यका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नेछन् ।
समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सहकार्यलाई नेपालको अन्तरराष्ट्रिय छवि तथा बजार पहुँच बिस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो । दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’ लाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्नेछ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्छ । यो प्रयास दिगो पर्यटन विकासका लागि महत्त्वपूर्ण हुनेछ ।”
