`

विशेष अदालतमा अधिकारी र भण्डारीको थुनछेक बहस

Nepal One HD २१ मंसिर २०८२ १४:३२
प्रमुख खबर

काठमाडौं । नलिनचोक हेलिपोर्ट निर्माणमा घोटाला गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्व निर्देशक मुरारी भण्डारीविरुद्ध थुनछेक बहस शुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू विदुर कोइराला, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको संयुक्त इजलासमा अहिले सुनुवाइ चलिरहेको छ । शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेलले हेर्न नमिल्नेमा राख्दै प्रतिवादीहरूलाई आज अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।

त्यसपछि आज फेरि अधिकारी र भण्डारीलाई अदालत उपस्थित गराई थुनछेक बहस सुरु गरिएको हो । अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ । अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।

अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ । ४ जना फरार छन् । उनीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबर रकम सामुहिक बिगो कायम गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *