`

विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

Nepal One HD २३ मंसिर २०८२ १९:४६
विश्व

संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पु¥याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार्यक्रम तथा शरणार्थी र आप्रवासीसम्बन्धी छवटा योजनामार्फत पु¥याइनेछ ।ओचाले आगामी वर्षको मुख्य लक्ष्य ८७ लाख मानिसको ज्यान बचाउन २३ अर्ब डलर जुटाउनुपर्ने बताएको छ ।

संयुक्त राष्ट्र र उसका साझेदारहरूले सन् २०२६ का लागि मानवीय अपिल सार्वजनिक गर्दै युद्ध, जलवायु विपद्, भूकम्प, महामारी र बाली नष्ट हुने घटनाले सबैभन्दा बढी असर पारेका क्षेत्रमा सहयोग केन्द्रित गरिने जानकारी दिएका छन् ।

मानवीय मामिलाका अवर–महासचिव तथा आकस्मिक राहत संयोजक टम फेलेचरका अनुसार यसले ‘ज्यान बचाउने कामलाई पहिलो प्राथमिकतामा राखेको’ छ । उहाँले भन्नुभयो,“२०२६ को प्रतिवेदन सुधार, प्रमाण र कार्यक्षमतामा आधारित छ, र संयुक्त राष्ट्रले स्थानीय संस्थालाई थप अधिकार दिँदै आवश्यक व्यक्तिलाई सहयोग सीधै पु¥याउने दिशामा अघि बढिरहेको छ ।”

‘विश्व मानवीय अवलोकन २०२६’ नामक प्रतिवेदनले विश्वभरका मानवीय आवश्यकता, तिनका कारण तथा सहयोगका लागि कति स्रोत आवश्यक पर्छ भन्ने विस्तृत विवरण प्रस्तुत गर्दछ ।संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले यो वर्ष देखा परेको गम्भीर वित्तीय सङ्कटले धेरै मानवीय कार्यक्रममा कठिनाइ उत्पन्न गरेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *