काठमाडौं महानगरले गर्यो २३५ बाजागुरूलाई नगदसहित सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ । ३१ औँ महानगर दिवस २०८२ का अवसरमा आज राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, समितिका सदस्यहरु, कार्यपालिकाअन्तर्गतका समितिका संयोजक लगायतको उपस्थितिमा सम्मान गरिएको हो।
सम्मानित हुने गृरुहरुमा ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस भएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५२ जना दाफा खिं गुरु रहेका छन् । यस्तै, गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस भएका २६ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट सिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट १४ टोलबाट शिफारिस भएका १४ जना गुरु रहेका छन् । केन्द्रीय मानन्धर संघबाट सिफारिस भएका ४ टोलका ४ जना र विभिन्न संघसंस्थाहरुबाट सिफारिस भएका ७ जना बाजा गुरुलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले स्वःस्फूर्त परम्परागत बादन संस्कृति जोगाउन योगदान गर्ने बाजा गुरुहरुले प्रदान गरेको जीवन्तता कायम राख्न महानगरपालिका प्रतिबद्ध रहेको बताइन् । ‘परम्पराको संरक्षण र प्रवर्धन अहिले नै आँखाले देखेजस्तो दृश्यात्मक हुँदैन तर अमूल्य हुन्छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘पछिल्लो समयका प्रशिक्षण र सांस्कृतिक क्रियाकलापहरुमा युवाहरुको आकर्षण बढ्नुले संस्कार पुस्तान्तरण हुने वातावरण बनेको छ ।’
कार्यक्रममा बोल्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बाजा गुरुहरुको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । ‘बादन संस्कारले मूर्त सम्पदा क्षेत्रलाई जीवन्तता दिएका छन्, बाजा गुरुहरुकै कारण बादन संस्कार जोगिएको हो,’ संगतको भनाई छ, ‘यो परम्परा बचाइ राख्न महानगरपालिका र समुदायका बिच दिगो सम्बन्ध रहने हामीले अपेक्षा गरेका छौँ ।’ बाजा गुरुहरुको यो त्यागमाथि चर्चा गर्दै समितिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘सम्मान कार्यक्रम एक दिन हुन्छ तर महानगरपालिका गुरुहरुप्रति हरेक दिन अनुग्रहित छ ।’
कार्यक्रममा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जन, नेपाल खड्गी सेवा समितिका अध्यक्ष रञ्जिता खड्गी, गुंलाबाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्यसहित वक्ताले, महानगरपालिकाले गुरुहरुलाई सम्मान गरेपछि सरकारबाट संरक्षण पाएको अनुभूति भएको धारणा राखेका थिए । बाजागाजा उपलब्ध गराउने, बजाउने तरिका सिक्ने तथा धार्मिक सामाजिक कार्यमा बादन गर्ने कामका लागि महानगरपालिकाको अझ सशक्त अभिभावकत्वको अपेक्षा गर्दै उनीहरुले अहिले थालिएका कार्यक्रमको प्रशंशा गरेका छन्।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । यसैगरी नारायण चौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला आयोजना गरिएको छ ।
