`

धमाधम हुँदैछ मुग्लिन-पोखरा सडक बिस्तार

Nepal One HD ५ पुष २०८२ १३:०७
अर्थ समाचार
मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरीएको कार्य अन्तर्गत पुल बाहेक कुल ३८ कि.मी. खण्डमा प्रथम तहको कालोपत्रे कार्य सम्पन्न भई सकेको छ भने (३३.२ कि.मी. खण्डमा दुई तर्फी कालोपत्रे (चार लेन), ४.८ कि.मी. खण्डमा एकतर्फी कालोपत्रे (दुई लेन)) ५१.३ कि.मि. (दुई लेन) दोस्रो तह (अस्फाल्ट) कालोपत्रे, सर्विस लेन कालोपत्रे ५ कि.मि. त्यस्तै गरी १२ वटा पुल मध्ये ११ वटा सम्पन्न भएको छ र १०५ वटा कल्भर्ट मध्ये १०५ वटा नै सम्पन्न भई सकेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले जानकारी दिए ।
यो परियोजना वि.सं २०७८ भदौमा सुरु भएको हो। ठेक्का म्याद आगामी पुससम्म कायम रहेको छ । तर, निर्माण कम्पनीले समयमा काम सम्पन्न नगरेपछि यसअघि दुईपटकसम्म म्याद थपिएको इन्जिनियर कुँवरले बताए । अहिले चिनियाँ निर्माण कम्पनी अनहुइ काइयुयान रोड एन्ड ब्रिज कन्स्ट्रक्सनले काम अघि बढाइरहेको छ ।
सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ । १०५ वटा कल्भटको निर्माण कार्य भने पूरा भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए  ।  तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ भने कास्कीस्थित सेती नदीमा बन्ने पुल निर्माण चरणमा छ । सो पुलको भौतिक प्रगति ५३.४५ प्रतिशत र वित्तीय प्रगति ५१.६३ प्रतिशत पुगेको छ ।
यो खण्डको ठेक्का रकम सात अर्ब ४० करोड रुपैयाँ रहेको छ। मुग्लिन–पोखरा सडकलाई स्तरोन्नत गरी सुरक्षित, दिगो र द्रुत यातायात प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य सहित काम सम्पन्न हुने चरणमा रहेको छ । तनहुँको आँबुखैरेनीदेखि पोखरा पृथ्वीचोकसम्मको करिब ८० किलोमिटर लामो खण्डलाई दुई भागमा विभाजन गरिएको छ-पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) र पश्चिम खण्ड (जामुने–पोखरा)। दुवै खण्डमा चार लेनको सडक विस्तार भइरहेको छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *