बालेनलाई प्रचण्डको आग्रह, खुल्लामञ्च खुला गरौं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले खुला मञ्च खुला गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको बताए। उनले एक लाख मानिसहरु राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए । काठमाडौं उपत्यकाका अन्य स्थानहरु राजनीतिक दलहरुलाई कार्यक्रम गर्न सानो भएको उनको भनाइ छ ।
उनले भने, ‘सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरुलाई आग्रह गर्दछु । किनकी यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो । एउटा एक लाख मानिस जम्मा भएर बस्ने चौर हामीकहाँ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ । महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधि र सरकारलाई सबैभन्दा पहिला जोडदार माग गर्न चाहन्छु ।’
