वर्तमान सरकारका गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने जेन-जीहरुको घोषणा
काठमाडौँ । विभिन्न जेन-जी समुहहरुले वर्तमान सरकारविरुद्द सडक संघर्ष गर्ने घोषणा गरेका छन् ।
नेसनल प्रेस क्लब नेपालमा आयोजित ‘जेन-जी जनआन्दोलनको राजनीतिक जिम्मेवारी र अबको मार्ग’ नामक कार्यक्रममा दशभन्दा बढी जेन-जी समुहहरुले वर्तमान सरकारले आन्दोलनको मर्म र सहिदका सपना पुरा गर्न नसकेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन र भ्रष्टाचारका ठूला फ़ाईलहरुमा काम नभएसम्म चुनाव हुन नसक्ने घोषणा समेत गरेका छन् ।
कार्यक्रममा बोल्दै सागर ढकालले जेन-जी आन्दोलन अपहरण गरेर वर्तमान सरकार अर्कै काममा लागेको आरोप लगाएका छन् । उनले नेपालमा ठुला ठुला राजनैतिक आन्दोलन भएका तर ती सबै आन्दोलनलाई बिर्सिने गरी भएको जेन-जी आन्दोलानलाई अपराधीकरण गर्न खोजीएको प्रति चरम असन्तुष्टि समेत व्यक्त गरे ।
सोही कार्यक्रममा बोलेका सोम शर्माले आफू सरकारको पक्षमा रहे पनि सरकारको गलत प्रवृत्तिको खुलेर विरोध पनि गर्ने बताए । उनले भने, ‘सरकार जे काम गर्न बनेको त्यो काम गरिरहेको छैन । हाम्रा साथीहरु धमाधम पक्राउ परिरहेका छन् । पक्राउ परेका साथीहरुलाई रिहाई गराउन पैसा मागिरहेको छ। हामी यसका विरुद्ध डटेर लड्छौं।’
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले संविधान संशोधन र भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिएका थिए ।
‘ सरकार तथा अन्य सरोकारवालाहरुले जेनजी आन्दोलनलाई अपराधिकरण गरिरहेका छन्, हामी हाम्रो आन्दोलनमा नियन्त्रण होइन, संरक्षण चाहन्छौं,’ जेन-जी नेता जगत विश्वकर्माले भने ।
पुराना राजनैतिक दलहरुप्रति आक्रोश पोखेका जेन-जीहरुले कसैले पनि जेन-जी आन्दोलनलाई मजाक नबनाउन चेतावनी समेत दिएका छन् । जेनजी नेता सुप्रिया नेपालीले भनिन्, ‘जेन-जी जनआन्दोलनको मर्म जीवित राखिराख्न र आन्दोलनकारीको दिर्घकालीन न्यायका निम्ति हामी राजनैतिक जिम्मेवारी लिन तयार छौँ । यसलाई आत्मसात गर्ने जुनसुकै राजनैतिक शक्ति र संस्थाहरुसँग हामी सहकार्य गर्न तयार छौँ । तर आफ्नो निहित स्वार्थका निमित्त कसैले पनि जेन-जी जनआन्दोलनको आत्मासङ्ग खेल्ने दुषित प्रयत्न नगरोस्।’
