दाउरा काट्दै गर्दा नाबालिका बलात्कृत, बलात्कार आरोपी नाबालक दाजु
काठमाडौं– बझाङकी १३ वर्षीया परिवर्तित नाम चैनपुर २१ (क) दाउरा काट्न गएकी थिइन् । केही घण्टामा रुँदै घर आइन् । प्रसङ्ग १९ मंसिरको हो ।
रुँदै आएकी उनलाई बज्यैले सोधिन्, ‘के भयो ?’
उनले भनिन्, ‘चैनपुर २१ (ङ)ले दाउरा काट्दै गर्दा पछाडिबाट समाते । भुइँमा लडाए । अनि बलात्कार गरे ।’
पीडाले आफू रुँदा दिदी (चैनपुर २१ घ)ले सुनेको र किन रोएको भन्दा ती बालक भागेको पनि बताएकी छिन् ।
बलात्कार आरोपी नाबालक र बलात्कारपीडित बालिकाको हजुरबुबाहरू सहोदर दाजुभाइ हुन् । त्यसो हुनाले यो बलात्कार घटनालाई हाडनातामा करणी भनिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बझाङले बुधबार ती नाबालकलाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा आरोपपत्र दायर गरेको छ ।
आरोपपत्रमा प्रतिवादी नाबालकले भने नाबालिका आफैंले आफूलाई बोलाएको र करणी गरौँ भनेको बयान दिएको उल्लेख छ ।
उनले बलात्कार गरेको अस्वीकार गरेका छन् । सहमतिमा करणी भएको उनको जिकिर छ ।
आरोपपत्रमा सरकारी वकिल कार्यालयले ती आरोपी नाबालकलाई १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।
पीडित नाबालिकलाई मनासिव क्षतिपूर्ति पनि आरोपीबाट दिलाउन माग गरेको छ ।
