`

आठ वर्षपछि खुलेको अम्बिका हत्या रहस्य: पति नारदमणिले गरे हत्या स्वीकार

Nepal One HD १६ पुष २०८२ १७:११
अपराध

काठमाडौं– भोजपुरको भोजपुर नगरपालिका–६ देउरालीका नारदमणि राईले श्रीमती अम्बिका श्रेष्ठको हत्या गरेको आठ वर्षपछि स्वीकारेका छन् ।

उनले आवेशमा आएर एक झापड हानेको र अम्बिकाको टाउको भित्ताको ढुङ्‍गामा जोडले ठोक्किँदा अचेत भएर लडेको बताए । त्यसपछि घिसार्दै घरभित्रको खाटमा लगेर अम्बिकालाई राखेको बयान दिएका छन् ।

घटना १९ साउन २०७४ को भए पनि उनले आठ वर्षपछि मात्रै आफैंले हत्या गरेको स्वीकारेका हुन् ।

उनलाई प्रहरीले गएको २४ मंसिरमा मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । उनीविरुद्ध मृतक अम्बिकाको दाजु प्रेमकुमार श्रेष्ठले पक्राउ परेको चार दिनपछि २८ मंसिरमा थप जाहेरी दिए जहाँ अम्बिकाको हत्या श्रीमान् नारदमणिले नै गरेको किटान गरिएको छ ।

पक्राउ परेपछि उनले श्रीमती अम्बिकाको हत्या गरेको मात्रै स्वीकारेनन्, रेबिजका कारण छोरा गुमाउनु परेपछि गम्भीर चिन्तामा अम्बिका परेको दुःखद् क्षणको स्मरण गरेका छन् ।

पुत्र वियोगकै कारण उनले माधक पदार्थ सेवन गर्न थालेको बताए ।

१९ साउन २०७९ मा माइतीबाट घर आउँदा पनि उनले माधक पदार्थ सेवन गरेको र सिकुवामा बसेको देखेर खाना खान बोलाउँदा ‘तेरो काटो तैँ खा’ भनेको पनि बताए । त्यसपछि रिस थाम्न नसकेर एक झापड हानेको र उनको टाउको जोडले भित्ताको ढुुंगामा ठोक्किँदा अचेत भएर ढलेको भनेका छन् ।

तर, अम्बिकाका दाजु प्रेमका अनुसार नारदमणिले भोजपुरकै मीना राईसँग सुटुक्क दोस्रो विवाह गरेको र त्यसपछि अम्बिकालाई कुटपिट गर्न थालेका हुन् ।

नभन्दै नारदमणिले पनि मीनासँग विवाह गरेको र उनलाई धरानको पानबारीमा राखेको स्वीकारेका छन् ।

उनै मीनासँगको सम्बन्धमा खटपट आएपछि पहाड घर गएको र त्यही क्रममा अम्बिकाको हत्या गरेको अनुसन्धानको क्रममा प्रहरीसँग बयान दिएका छन् ।

अम्बिकाको हत्यापछि उनले संगीता तामाङसँग विवाह गरेर मोरङको बेलबारीमा बस्ने गरेको खुलेको छ ।

बुधबार अम्बिकाको हत्या घटनासम्बन्धी यो मुद्दा जिल्ला अदालत भोजपुर दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी नारदमणिविरुद्ध जन्मकैदको मागदाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *