`

विदेशको झुटो आश्वासन, दर्जनौँ पीडित: ठगीकाण्डमा पाँच पक्राउ

Nepal One HD १७ पुष २०८२ १४:११
अपराध

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्‍ने उदयपुर उदयपुरगढी गाउँपालिका–३ घर भएका २६ वर्षीय विश्‍व ठकुरी भनिने विश्‍व विक्रम सेन, काठमाडौं टोखा नगरपालिका–९ बस्‍ने उदयपुर त्रियुगा नगरपालिका–१२ घर भएका ४४ वर्षीय अर्जुनकुमार निरौला, काठमाडौं महानगरपालिका–१० बस्‍ने ४८ वर्षीय गोपाल भनिने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ बस्‍ने पाँचथर फिदिम नगरपालिका–१२ घर भएका ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक र ललितपुर महानगरपालिका–२३ बस्ने काभ्रे पनौती नगरपालिका–१२ घर भएका ४० वर्षीय राजकुमार खड्का रहेका छन्।

प्रहरीका अनुसार विश्‍व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिने भन्दै ९ जना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ असुलेका थिए।

त्यस्तै, पूर्ण बहादुरले अष्ट्रिया पठाइदिने भन्दै २ जना पीडितबाट ४ लाख रुपैयाँ र राज कुमारले स्पेन पठाइदिने भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

यस सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी परेपछि खटिएको प्रहरीले विश्‍व, अर्जुन, प्रेम र पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट तथा राज कुमारलाई काठमाडौं महानगरपालिका–७ बाट पक्राउ गरेको हो।

पक्राउ परेका विश्‍व, अर्जुन र प्रेमलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने पूर्णबहादुर र राज कुमारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *