`

अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई आदेश

Nepal One HD १८ पुष २०८२ १९:०७
प्रमुख खबर

काठमाडौँ – सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा सो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “निर्वाचन आयोगले सबै राजनीतिक दलले पेस गरेको बन्द सूची छानबिन गरी, संविधान र कानुनअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व नभएमा सम्बन्धित दललाई सूची सच्याई अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था गर्नु÷गराउनु हुन आदेश दिएको छ ।”

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईँ, सङ्घका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सीताराम केसीको कानुनी सहायतामा यही पुस ११ गते रिट निवेदन दायर गरिएको थियो ।

रिट निवेदनमा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको २.२ प्रतिशत (६,४७,७४४ जना) कुनै न कुनै प्रकारको अपाङ्गता भएका व्यक्ति भएको र यति ठूलो जनसङ्ख्या हुँदाहुँदै पनि समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगर्नु समावेशी लोकतन्त्र, समान राजनीतिक सहभागिता र अन्तरराष्ट्रिय दायित्वविपरीत भएको निवेदकहरूको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *