`

श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष देवराज लामाविरुद्ध १२ वर्ष कैद मागदाबी

Nepal One HD २० पुष २०८२ १५:१०
अपराध

काठमाडौं– हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका निलम्बित उपाध्यक्ष देवराज लामाविरुद्धको विस्फोटक पदार्थसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा दिएको रायको आधारमा जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले जिल्ला अदालतमा आरोप पत्र दायर गर्दै उनलाई दुई फरक कसुरमा १२ वर्ष कैद सजाय माग दाबी गरेको छ ।

कार्यालयले आइतबार दायर गरेकाे आरोपपत्रमा दुईवटा मुद्दामा गरी एक लाख बीस हजार जरिवानाको पनि मागदाबी गरेको छ ।

विस्फोटक पदार्थ ऐन २०१८ को दफा १० को उपदफा १ को (क) र मुलुकी अपराध संहिता २०७४ को दफा १३९ को उपदफा २ को (क) बमोजिमको कसुर लामाले गरेको अभियोग छ ।

पहिलो कसुरमा उनलाई दुई वर्ष कैद वा बीस हजारसम्म जरिवाना वा दुवै हुने कानुनी व्यवस्था छ । दोस्रो कसुरमा १० वर्ष सजाय वा एक लाख जरिवानाको प्रावधान छ ।

आरोपपत्रमा उनी १२ असार २०६९ मा पाँचथरको लुङ्‍रुपाको भुसपातेस्थित गोठबाट पक्राउ पर्दा त्यसबेला प्रहरीले उनको साथमा विस्फोट पदार्थ गन्धक डेढ किलो र सोडा पदार्थ १४ किलो फेला पारी बरामद गरेको उल्लेख छ ।

यो अभियोग प्रमाण र आरोपी लामाको बयानबाट स्थापित भएको आरोपत्रमा भनिएको छ ।

‘मिति २०६९–०३–१२ गते जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. १३ स्थितमा प्रतिवादी कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने राजकुमार तामाङ (लामा) को साथबाट अवैध विष्फोटक पदार्थ गन्धक र सोडा पदार्थसहित फेला परी बरामद भएको देखिँदा निज प्रतिवादी कुमार, विश्‍वकान्ति, देवराज लामा भन्‍ने राजकुमार तामाङ (लामा)ले विष्फोटक पदार्थसम्बन्धी कसुर गरेको वारदात स्थापित हुन आयो,’ आरोपपत्रमा छ ।

उपाध्यक्ष लामा हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले लामालाई यही १ पुसमा काठमाडौंको कपनस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

उनी पाँचथर प्रहरीको फरार सूचीमा थिए । त्यहाँ उनीविरुद्ध १३ वर्ष पुरानो विस्फोटक पदार्थसम्बन्धी मुद्दा थियो । सोही मुद्दामा उनी पक्राउ परेका हुन् ।

लामाको बयानमा के छ ?

धनकुटाको चुनवाङ पुर्ख्याैली घर भएका लामा २०६७ को जेठ तेस्रो साता काठमाडौंको बौद्ध क्षेत्रमा बस्ने लकु शेर्पासँग चन्दा असुली गरेको आरोपमा पक्राउ परे । यो मुद्दामा उनी केन्द्रीय कारागार सुन्धारामा एक वर्ष दुई महिना थुनामा बसे ।

त्यहीबेला पार्टीका कार्यकर्ताहरूले धादिङको विभिन्‍न ६ स्थानमा बम विस्फोट गरेपछि आफूविरुद्ध अर्को मुद्दा थपिएको उनको बयानमा छ ।

फेरि कार्यकर्ताहरूले १७ फागुन २०६७ मा काठमाडौंस्थित राप्रपाको पार्टी कार्यालयमा समेत सकेट र सुतली बम राखेको र सो घटनामा पनि आफूमाथि विष्फोटक पदार्थ मुद्दा दर्ता भएको लामाको बयान छ ।

त्यसपछि आफू घर चुनवाङमा भाइको बिहेका लागि आउँदा काठमाडौंको आयल निगम र जिल्ला अदालत काठमाडौंको बीचमा १५ फागुन २०६८ मा भएको टाइम बम विस्फोट गराएको र घटनामा परी तीनको मृत्यु भएपछि आफू प्रहरीको निसानामा परेको उनको भनाइ छ ।

उनका अनुसार बम विस्फोटक आफ्नै पार्टीका कार्यकर्ताहरूले गरेका थिए । तर, आफूले प्रवक्ताको हैसियतले विज्ञप्ति जारी गरेर घटनाको जिम्मा पार्टीले लिएको भनेका छन् ।

सोही घटनामा उनलाई काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र कर्तव्य ज्यान उद्योगसम्बन्धी कसुरमा मुद्दा दायर भएको बताए । लगत्तै प्रहरी उनको खोजीमा रहेको जानकारी आएपछि आफू फरार भएको बयानमा भनिएको छ ।

बयानमा छ, ‘झापा हुँदै भागेर पाँचथरको च्याङ्थापु पुगेँ । त्यसपछि बीचबाटो हुँदै लुङ्‍रुपाकाे जरिबुट्टे गएर अर्जुन राईको घरमा बसेँ ।’

तर, प्रहरी टोलीले पछ्याएको सुइँको पाएसँगै भागेर भारतको सिक्किम गएर बसेको लामाले बयानमा खुलाएका छन् । त्यहाँ पनि प्रहरी टोलीले खोजिरहेको थाहा पाएपछि ९ असार २०६९ मा लुङ्‍रुपाकाे भुसपातेमा नन्दलाल राईको गोठमा बसेको र १२ असारमा पक्राउ परेको बताएका छन् ।

त्यसबेला प्रहरीले डेढ किलो गन्धक र १४ किलो सोडासहित पक्राउ गरेको स्वीकारेका छन् ।

उनलाई प्रहरीले १३ असारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ल्याएको र १४ गते कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं पठाएका थिए ।

कहाँ कति सजाय ?

लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले बम विस्फोट घटनामा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा १५ वर्ष कैद सजाय फैसला गरेको थियो ।

तर, सात वर्ष ११ महिना कैद भुक्तान गर्दा ७ फागुन २०७७ मा प्रजातन्त्रको दिवसमा उनी कैद छुट पाएर रिहा भए ।

काठमाडौं अदालतमै दर्ता भएको चन्दा असुलीमा एक वर्ष २ महिना कैद भुक्तानी गरे । धादिङको बम विस्फोटसम्बन्धी मुद्दामा उनले सफाइ पाएका थिए । राप्रपा पार्टी कार्यालयमा बम राखेको मुद्दामा पनि उनले उन्मुक्ति पाए ।

यसपछि उनी पछिल्ला दिनमा घर व्यवहारमा थिए । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गर्दा उनी उपाध्यक्ष भए ।

उनी श्रम संस्कृति पार्टीको राजनीतिक दस्तावेज तयार गर्ने मूल नेता हुन् । उनलाई संस्कृति, प्रकृति र प्रविधिको त्रिकोणीय संयोजित विचारधारा ‘हर्कवाद’को व्याख्याता मानिन्छ ।

उनै लामा ४ पुसमा बुटवलमा हुने भनिएको श्रम संस्कृति पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न जान काठमाडौं आएको बेला १ पुसमै पक्राउ परे । उनलाई २ पुसमा पार्टी अध्यक्ष हर्क साम्पाङले फेसबुकमै स्टाटस लेखेर कानुनी प्रक्रियाबाट सफाइ नपाउञ्‍जेसम्‍मका लागि भन्दै निलम्बन गरे ।

देवराज घिमिरेका प्रतिस्पर्धी !

लामा स्वतन्त्रबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–२ मा प्रधिस्पर्धी थिए । त्यहाँबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भए ।

अधिवक्ता स्वागत नेपाल निकटतम प्रतिद्वन्द्वी भए । लामाले मत उल्लेख्य पाएनन् ।

उनले भनिएका थिए, ‘मलाई बम विस्फोट गराएको भनेर कतिपयले प्रचार गरे । त्यसलाई चिर्न सकिनँ र मत अपेक्षित पाइनँ ।’

लामा २०६४ को पहिलो संविधान निर्वाचनमा काठमाडौं–३ बाट उम्मेदवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *