`

फिलिपिन्समा पक्राउ परेका पाठकलाई नेपाल ल्याइँदै

Nepal One HD २१ पुष २०८२ १२:२५
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले १९ पुसमा फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ गरेको थियो ।

स्रोतका अनुसार उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना इन्स्पेक्टर जाने निर्णय भएको छ । भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेका पाठकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर हाइप्रोफाइललाई धम्क्याउँदै आएका थिए ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए । मंसिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनारलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *