`

ठूला कुरा गरेको भन्दै गणेशकाे कुटेर हत्या, अनि लागेका थिए कमल घरतिर

Nepal One HD २१ पुष २०८२ १५:४९
अपराध

काठमाडौं– काभ्रेको पाँचखाल नगरपालिका– १ का गणेश विकको हत्या आरोपी कमल तामाङले मातेर ठूला कुरा गरेपछि कुटपिट गरेर हत्या गरेको स्वीकारेका छन् । उनले आफू अदुवा लिई बसपार्कमा पुगेपछि छेउकै दोकानमा माद्यक पदार्थ सेवन गरिरहँदा पहिल्यै मातेका गणेश आएर ठूला ठूला कुरा गर्दै अश्लील गाली गरेको र रिस थाम्‍न नसकेर सडकमा कुटपिट गरेको बयान दिएका छन् ।

उनका अनुसार कुटपिटपछि उनले धकेल्दा गणेश सडकमा लडेका थिए । त्यसपछि आफू घर गएको उनले बयान दिएका छन् । आफन्तले उपचारका लागि गणेशलाई धुलिखेल अस्पताल लगेको र उपचारकै क्रममा उनको गत मंसिरको २६ गते मृत्यु भएको उनको बयान छ । उनै कलमविरुद्ध सरकारी वकिल कार्यालय काभ्रेले सोमबार जिल्ला अदालतमा जन्मकैदको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो ।

कमलले मुलुकी अपराध संहिता २०७४ को १७८ (१) अनुसारको कसुर गरेको र २ अनुसार जन्मकैदको मागदाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता निकुञ्‍ज श्रीवास्तवले आरोपपत्रमा उल्लेख गरेका छन् । प्रहरीले लासजाँच गर्दा दुवै आँखा वरिपरी निलडाम रहेको र टाउकोको बीच भागदेखि बायाँ कानसम्मै ठूलो घाउ देखिएको आरोपपत्रमा छ । मृतक गणेशका बुबा सूर्यमान कामीका अनुसार गणेश १८ मंसिरमा धान्‍नेपूर्णिमामा गाउँमै लाग्‍ने जात्रा हेर्न गएका थिए ।

जात्रा हेरेर तीनपिप्लेमा सामान किन्‍न जाँदा रातको अन्दाजी ७: ४५ तिर कमलले कुटपिट गरेको सूर्यमानको दाबी छ । उनले मुक्काले गणेशलाई टाउको र शरीरको विभिन्‍न भागमा प्रहार गरेको र कुटपिटबाट टाउकोमा रगत जमेको पनि बताए । गम्भीर घाइते अवस्थामा उद्धार गरी गणेशलाई धुलिखेल अस्पतालमा लगेर भेन्टिलेटरमा राखी उपचार गराउँदा गराउँदै मृत्यु भएको सूर्यमानले जाहेरीमा भनेका छन् । उनले कमललाई कानुनअनुसार कारबाही र सजायको माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *