राष्ट्रियसभाको १८ सीटमा चार दलको भागबण्डा, कसलाई कति ?
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा तीन ठुला दलहरुबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जसपा नेपालबीच तालमेलको सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।उनका अनुसार कांग्रेस र एमालेले ७-७, नेकपाले तीन र जसपाले एक सीट लिने गरी सहमति भएको उनले बताए ।
उनले भने, ‘७-७ सीटमा कांग्रेस र एमालेले चित्त बुझाइसकेको छ, नेकपाले हामीलाई चार सीट चाहिन्छ भनिरहेको छ, तर उहाँहरू पनि बेलुकासम्ममा सहमतिमा आउनु हुन्छ ।’ आज बेलुकासम्ममा सबै विषय टुंग्याउनेगरी छलफल भइरहेको बताए । राष्ट्रिय सभाको रिक्त १८ सीटका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।
‘सीट संख्या लगभग टुंगिएको छ, कसको उम्मेदवार कहाँ हुने भनेर क्लस्टर मिलाउने काम जारी छ,’ स्रोतले भन्यो । मधेशबाट हालै जसपा नेपालसँग पार्टी एकीकरण गरेका महन्थ ठाकुर उम्मेदवार बन्ने तयारीमा छन् । तीन दल मात्र मिल्दा पनि चुनाव हुने १८ सीटमै जीत पक्का हुने स्थितिमा महन्थलाई एक सीट छुट्ट्याइएको स्रोतको दाबी छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन हुँदैछ ।
