ललितपुर क्षेत्र नं. २ मा एमालेबाट सुजिन महर्जन प्रत्यक्ष उम्मेदवारमा सिफारिस
काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. २ बाट युवाको प्रतिनिधित्व गर्दै सुजिन महर्जनलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टी संगठन, सामाजिक अभियान र युवा परिचालनमा लामो समयदेखि सक्रिय महर्जनलाई एमालेले नयाँ पुस्ताको भरोसायोग्य नेतृत्वका रूपमा अघि सारेको हो ।
सुजिन महर्जन विगत लामो समयदेखि नेकपा (एमाले) को संगठन निर्माण र विस्तारमा क्रियाशील रहँदै आएका छन्। उनी युथ फोर्स सचिवालय सदस्य, नेकपा (एमाले) ललितपुर जिल्ला सदस्य तथा जिल्ला युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा रहेर काम गरिरहेका छन्। साथै, नेशनल भोलिन्टियरका रूपमा पार्टीको निर्देशनअनुसार विभिन्न राजनीतिक, सामाजिक तथा संगठनात्मक अभियानमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आएका छन्।
पार्टीका विभिन्न आन्दोलन, अभियान तथा कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका महर्जनले संगठनलाई जरोदेखि बलियो बनाउने कार्यमा योगदान पुर्याएका छन्। स्थानीय तहदेखि जिल्ला र केन्द्रसम्म पार्टीको नीति तथा कार्यक्रमलाई जनतामाझ पुर्याउन उनले निरन्तर भूमिका खेलेको पार्टी नेताहरूको भनाइ छ।राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा पनि महर्जनको सक्रियता उल्लेखनीय छ। उनले सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी अभियानहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्। ललितपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षणका लागि विभिन्न अभियानमा उनको संलग्नता रहँदै आएको छ। त्यस्तै, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सामाजिक कार्य, रक्तदान कार्यक्रम, जनचेतना अभियान लगायतका कार्यमा समेत उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
युवाहरूको हकअधिकार संरक्षण, रोजगारी, खेलकुद प्रवर्द्धन तथा बाटो बिराएका युवाहरूलाई सही मार्गदर्शन प्रदान गर्ने उद्देश्यका साथ महर्जन विभिन्न संघ–संस्थामा आबद्ध भई काम गर्दै आएका छन्। युवाको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने उनको धारणा रहँदै आएको छ।एमालेले ललितपुर क्षेत्र नं. २ मा युवामाझ लोकप्रिय, संगठनात्मक रूपमा अनुभवी र सामाजिक रूपमा जिम्मेवार नेताका रूपमा सुजिन महर्जनलाई उम्मेदवारका रूपमा अघि सारेको छ।
पार्टीको नीति, सिद्धान्त र कार्यक्रमअनुसार विकास, सुशासन, सामाजिक न्याय तथा समावेशी विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता महर्जनले व्यक्त गरेका छन्। ललितपुर क्षेत्र नं. २ को समग्र विकासका लागि युवाको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ।
