ज्याकेटको रगतले खुलेको हत्या प्रकरणमा अमरराजविरुद्ध जन्मकैदकाे मागदाबी
काठमाडौं– घनश्याम घर्तीको घरमा ५ पुसको दिउँसो खानेपानी उपभोक्ता समितिको बैठक चल्दै थियो । बैठकमा टुप्लुक्क आइपुगे– अमरराज दमाई । उनको ज्याकेटको बाहुलामा रगत देखियो । घनश्यामलाई शंका लाग्यो र सोधे– ‘के को रगत बाहुलामा ?’
अमरराजले ढाँटे । आफ्नो हातमा चोट लागेको बताए । घनश्यामका अनुसार उनी रक्सी खाएर पूरै मातेको देखिन्थ्यो । उनले घटना घटाएको आशंकामा कपडा खोलेर हेरे । अमरराजले भनेजस्तो हातमा चोट देखिएन ।
त्यही बैठकमा अमरराजकी आमा कलावती पनि थिइन् । उनी हतारमा घर गइन् । १५/२० मिनेटमा घरबाट फर्किन् । उनले भनिन्, ‘यसले बुहारी (रिमा)लाई कुटपिट गरेछन् । कोठाभित्र बेहोस् छे । घ्यारघ्यार मात्रै गर्छे ।’
लगत्तै घनश्यामसहित बैठकमा आएका गाउँलेहरू कलावतीको घर गए । बेहोस् रिमाको टाउकोमा चोट देखे । रगत बगेको देखे । यसपछि घनश्यामले अमरराजकै भाइ बुद्धिरामलाई फोन गरे ।
घनश्यामले भने– ‘तिम्रो भाउजू सिरियस छे । अटो लिएर छिटो घर आउँ ।’
बुद्धिरामलाई शंका लाग्यो– दाजु अमरराजले कुटपिट गरे क्यारे । मरणासन्न हुनेगरी अमरराज श्रीमती रिमालाई पहिले पनि कुटपिट गर्थे । त्यही भएर बुद्धिरामले त्यस्तो शंका गरे । घटना प्रसङ्ग हो– रोल्पाको रुन्टीगढी गाउँपालिका– ५ जसपुरको ।
बुद्धिराम होलेरी बजारबाट अटो लिएर द्रुत गतिमा घर गए । रिमा रक्ताम्य भएर घरभित्र लडेकी थिइन् । उनी अचेत थिइन् । घ्यारघ्यार मात्रै गर्थिन् । हतार हतार उनलाई अटोमा राखेर होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगे । त्यहीँ उनले प्राण त्याग गरिन् ।
अमरराज त्यही साँझ पक्राउ परे । उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थाल्यो ।
अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझायो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय रोल्पाले मंगलबार जिल्ला अदालतमा अमरराजविरुद्ध आरोपपत्र दायर गरेको छ । आरोपपत्रमा उनलाई जन्मकैदको सजाय मागदाबी गरिएको छ ।
आरोपपत्रमा उल्लिखत बयानअनुसार अमरराज घटना हुँदाको बिहान गहुँमा पानी लगाउन खेत गएका थिए । दिउँसो त्यस्तै २ बजेतिर खेतदेखि घर पुगे । आमा बैठक गएको थाहा पाए ।
श्रीमती रिमा कोठामा मातेर सुतिरहेकी थिइन् । उनले भने, ‘गाईवस्तुलाई घाँसपात गर्नु पर्दैन ? बुढी आमा एक्लैले गर्न सक्दिनन् ।’
आफूले यसो भन्दा श्रीमती रिमा मुखमुखै लागेको उनको जिकिर छ ।
त्यसपछि विवाद बढ्दै जाँदा आवेशमा आएर आफूले रिमालाई लौरो र हथौडाले टाउकोमा निर्मम प्रहार गरे । रिमा भुइँमा ढलिन् । अचेत भइन् । लौरो र हथौडा घरको पेटिमा राखे ।
यसरी ४८ वर्षे अमरराजले श्रीमती रिमाको हत्या गरेको स्वीकारेका छन् ।
