जेन-जी आन्दोलनका चर्चित अनुहार समेट्न नसक्दा रास्वपामा चिन्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी आन्दोलनका सबै अगुवालाई पार्टीमा समेट्ने प्रयास गरे पनि मुख्य नेताहरूलाई नै समेट्न सकेको छैन ।
केही दिनअघि विवेकशील साझा र बालेन शाह पक्षलाई पार्टीमा समेट्न ३४ जना केन्द्रीय सदस्य थप गरेको थियो, जसमा केही जेन-जी आन्दोलनका अगुवा समावेश थिए । शिव यादव, खेमराज साउद, प्रदीप पाण्डे, ओजस्वी थापा, प्रदीप ज्ञवालीलगायतका जेन-जी नेताहरू रास्वपा केन्द्रीय सदस्य बनेका थिए । पुरुषोत्तम यादव भने यसअघि नै रास्वपा प्रवेश गरेका थिए। उनी रास्वपाको समानुपातिक सूचीमा पनि छन् ।
यति हुँदा पनि आन्दोलनको मुख्य नेतृत्वको रुपमा चिनिएका जेन-जी नेताहरू भने अझै रास्वापामा देखिएका छैनन् । जेन-जी फ्रन्टकी संयोजक रक्षा बमसहित फ्रन्टका सदस्यहरु रास्वपाको थपिएको केन्द्रीय समितिमा परेनन् ।
यस्तै, जेन-जी अलायन्सको नेतृत्वमा रहेका रिजन रानामगर पनि रास्वपाको सूचीमा देखिएनन् भने जेन-जी काउन्सिल प्रदेश १ का संयोजक उपार्जुन चाम्लिङ पनि अझै रास्वपाको विस्तारित केन्द्रीय समितिमा परेनन् । बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङलाई एक ठाउँमा ल्याउन सक्रियतापूर्वक दबाव सिर्जना गरिरहेका सुदन गुरूङ आफैं पनि रास्वपामा देखिएका छैनन् ।
जेनजी आन्दोलनबाटै चर्चामा आएका मिराज ढुंगानाले यसअघि नै आफ्नै पार्टी खोल्ने घोषणा गरेका थिए । गत साता बालेन शाहसँग भेटे पनि उनले रास्वपा प्रवेश गर्ने विषयमा कुनै रुचि देखाएका छैनन् ।
रास्वपामा प्रवेश गर्ने चर्चाबीच उनीहरू राजनीतिक रूपमा मौन देखिएका छन् । यसले जेन-जी आन्दोलनभित्रै फरक धार र रणनीति रहेको संकेत गर्दछ। जेन-जी फ्रन्टकी संयोजक रक्षा बम सबैको राजनीतिक बाटो एउटै नहुनु स्वाभाविक रहेको बताउँछिन् ।
‘रास्वपासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भनिन्, ‘जाने साथीहरू जानुहुन्छ। अहिलेसम्म मेरो लागि सडक नै नजिक छ।’
उनले जेन-जी फ्रन्ट आफैँ पार्टीमा जाने/नजाने निश्चित भइनसके पनि पार्टीमा जान चाहने साथीहरूका लागि वातावरण बनाउने स्पष्ट पारिन् ।
त्यस्तै, जेन-जी अलायन्सका नेता रिजन रानामगरले पनि तत्काल कुनै राजनीतिक दलमा नजाने निर्णय भएको बताए। ‘अहिलेसम्म कुनै पनि राजनीतिक दलमा नजाने निर्णय हो,’ उनले भने, ‘जो साथीहरू पार्टीमा जान चाहनुहुन्छ, उहाँहरूलाई छिटो निर्णय लिन आग्रह गर्छौँ। तर सडकमा बस्न चाहनेलाई सडकमै बस्न दिनुपर्छ भन्ने हाम्रो धारणा हो।’
जेन-जी काउन्सिलमा आबद्ध धेरै रास्वपा प्रवेश गरिसके पनि केही नेताहरू भने अझै बाहिरै छन् । काउन्सिलका प्रदेश १ संयोजक चाम्लिङ रास्वपा जाने विषयमा पर्याप्त वैचारिक र सैद्धान्तिक छलफल नभएको बताउँछन् ।
उनी भन्छन्, ‘ केही साथीहरू व्यक्तिगत रुपमा जानुभएको हो । यो स्वाभाविक छ तर काउन्सिलले कुनै पनि राजनीतिक दलमा आबद्ध हुनेबारे निर्णय लिएको छैन। एकमत नभई दलमा जानु व्यक्तिगत कुरा हो, संगठनको औपचारिक निर्णय होइन ।’
सुदन गुरुङ, रक्षा बम, उपार्जुन चाम्लिङ, युजन राजभण्डारीलगायत नेताहरू नआएपछि रास्वपाभित्र भने चिन्ता बढेको छ । जेन-जी भित्र्याएको भने पनि चर्चित अनुहार पार्टीमा नसमेटिएपछि रास्वपाले जेन-जी अगुवाहरूसँग थप छलफल चलाउन थालेकाे छ । आइतबार केन्द्रीय समिति विस्तारपछि पार्टी उपसभापति स्वर्णिम वाग्लेले पटक पटक जेन-जीका विभिन्न समूहहरूसँग छलफल गरिरहेका छन् ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको स्वामित्त्व लिने घाेषणा गरेको पार्टीमा नै प्रमुख जेन-जी नेता नसमेटिँदा राजनीतिक रुपमा सकारात्मक सन्देश नजाने विश्लेषण भइरहेको रास्वपाका एक नेताले बताएका छन् ।
