भोलिबाट राजनीतिक यात्रा सुरू हुने कुलमानको उद्घोष, रास्वपासँगको एकताबारे अस्पष्ट जवाफ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। बुधबार करीब राति १० बजे आयोजित पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् ।
घिसिङ जेन-जी आन्दोलनपछि सुशिला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्री बनेका थिए । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकता भएपछि उनीमाथि सरकार छोड्न दबाव बढेको थियो । जेन-जी आन्दीलनपछि आन्दोलनको जगमा गैरदलीय व्यक्तिहरूको अन्तरिम मन्त्रिपरिषद गठन गर्ने भनिएको थियो । तर, रास्वपा र ऊज्यालो नेपाल पार्टीबीच घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएको थियो । यही दबावबीच उनले बुधबार राती प्रधानमन्त्री सुशिला कार्कीलाई राजिनामा बुझाएका हुन् ।
प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएपछि उनी पत्रकार सम्मेलनमा सहभागी भए । आफू राजनीतिमा सक्रिय रहने निश्चित भइसकेको अवस्थामा प्रधानमन्त्री कार्कीले केही समय भए पनि मन्त्रिपरिषदमा रहेर काम गर्न अनुरोध गरेका कारण मन्त्री भएको उनले दाबी गरेका थिए । राजनीमा गरेपछि भोलिबाट नै राजनीतिक रुपमा सक्रिय हुने उनले बताएका छन् ।
साढे तीन महिने कार्यकालका उपलब्धि
पत्रकार सम्मेलनमा उनले आफ्नो साढे तीन महिने कार्यकालका उपलब्धिहरू प्रस्तुत गरे । ऊर्जा, पूर्वाधार, सडक, उद्योग र फोहोर व्यवस्थापनलगायत क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको घिसिङको दाबी थियो । खासगरी उद्योगबाट विद्युत महशुल उठाएको कुरालाई उनले जोड दिएका थिए ।
‘उद्योगहरूले महसुल तिर्न थालेको छन्, कोदारी मार्ग तथा बीपी राजमार्गका काम पुनः सुरु भएको छ, बन्चरे डाँडाको विवाद मत्थर भएको छ,’ घिसिङले भने ‘मेलम्ची खानेपानी आयोजना अन्तिम चरणका काम सम्पन्न भएको र हुलाकी राजमार्ग तथा कमला पुलका कामले तीव्रता लिएको जानकारी छ।’
घिसिङले आफ्नो छोटो ऊर्जा व्यापारका क्षेत्रमा नेपालले ठूला उपलब्धि हासिल गरेको दाबी गरे । घिसिङले भारतसँगको ६५४ मेगावाटको विद्युत व्यापार सम्झौता देशकै हितमा गरिएको बताए । ‘४३ करोड घोटालासम्बन्धी आरोप अफवाह हो,’ उनले भने, ‘ विद्युत महँगोमा खरिद गरिएको भन्ने आरोप ऊर्जा क्षेत्र नबुझेकाहरूले फैलाएको भ्रामक प्रचार हो ।’
अब राजनीतिक यात्रामा
घिसिङले अधुरो रहेका केही काम टुङ्ग्याउन बाँकि रहेकाले राजीनामा दीन केही दिन ढिलाइ भएको उल्लेख गरे । ‘म नैतिक भएर राजीनामा दिएको हो, ०६२/६३ पछि बनेका अन्तरिम सरकारका सबै मन्त्री चुनाव लडेका छन्,’ उनले भने ‘मैले नैतिकवान् बन्न राजीनामा दिएको हो ।’
राजनीतिक भविष्यबारे प्रश्न सोधिँदा उनी स्पष्ट देखिए। ‘भोलिदेखि मेरो राजनीतिक यात्रा सुरु हुन्छ ,’ उनले भने पार्टी राजनितीमा म अध्यक्ष, उपाध्यक्ष वा सदस्य जेसुकै भूमिकामा पनि हुन सक्छु ।’
घिसिङको राजीनामाले राजनीतिक वृत्तमा ठूलो तरंग सिर्जना गरेको छ । पत्रकार सम्मेलनमा उनले प्रस्तुत गरेको मन्थनले उनले आगामी चुनाव र नयाँ राजनीतिक संरचनामा सक्रिय रहने संकेत देखाएको छ ।
रास्वपासँगको एकताबारे अस्पष्ट जवाफ
पत्रकार सम्मेलनमा घिसिङले अहिले नै कुनै आफू कुनै पार्टीको पदमा नरहेको बताएका थिए । साथै, आफूसँग काम गर्ने साथीहरूको आत्मसम्मानमा कमी आउन र शीर झुक्न नदिने बताएका थिए । उनको यो अभिव्यक्ति रास्वपासँगको एकतातर्फ लक्षित थियो ।
आफूलाई रास्वपाको उपसभापति बनाउने सम्झौता ऊज्यालो नेपाल पार्टी र रास्वपाले गरेको भन्दै आफू जोगिन खोजेका थिए । साथै, यो सम्झौता कार्यान्वयनमा नगएको पनि उनको भनाइ थियो ।
‘त्यो सम्झौता कुनै पार्टीले इन्डोर्स गरिसकेको छैन नि,’ पत्रकारले राखेको जिज्ञासामा उनको जवाफ थियो ।
