`

कुलमानले नैतिकता देखाउँदा खरेल र गुप्ताले बिर्सिए

Nepal One HD २४ पुष २०८२ १५:०२
रास्वपा

काठमाडौँ । सुशीला कार्की नेतृत्त्वकाे गैरदलीय सरकारमा दलीय मन्त्री भएकाे भन्दै सर्वत्र टिप्पणीपछि बुधबार राति ऊर्जा, भाैतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नैतिकताको कारण देखाउँदै पत्रकार सम्मेलन गरी राजीनामा दिए ।

त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आफू राजनीतिमा सक्रिय रहने निर्णय गरिसकेको अवस्थामा प्रधानमन्त्री कार्कीले केही समय भए पनि मन्त्रिपरिषदमा रहेर काम गर्न अनुरोध गरेकाले मन्त्री बनेको दाबी गरे ।

तर, अहिलेको परिस्थितिमा गैरदलीय सरकारमा बसेर पार्टी राजनीतिमा सक्रिय हुनु उचित नहुने निष्कर्षमा पुगेपछि राजीनामा दिएको स्पष्ट पारे। राजीनामापछि घिसिङ पूर्णकालीन राजनीतिक सक्रिय हुने भएका छन्।

यसरी प्रश्‍न उठेपछि घिसिङ राजीनामा दिँँदै सरकारबाट बाहिरिँदा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्‍चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले भने अहिलेसम्म राजीनामाबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । बब्लु रास्वपाका वरिष्ठ नेता बालेनका निकट पात्र हुन् ।

उनी रास्वपा र उज्यालाे नेपाल पार्टीबीच एकताकाे सहमति हुँदा रवि लामिछाने, घिसिङ र बालेनका साथमा देखिएका थिए । त्यसले पनि उनी रास्वपासँग जाेडिएकाे अर्थ दिन्छ ।

सञ्‍चारमन्त्री खरेलले एकतामा सहमति भएकाे दिन खुसी प्रकट गरेका थिए, जसले उनकाे रास्वपासँग झुकाव रहेकाे देखाउँछ । यस्ताे अवस्थामा प्रधानमन्त्री कार्कीले साेमबारकाे मन्त्रिपरिषद् बैठकमा दलीय राजनीतिमा सक्रिय हुने भए राजीनामा दिन घिसिङ, खरेल र गुप्तालाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।

खरेल र गुप्तामाथि गैरदलीय सरकारमा बसेर पार्टी राजनीतिमा संलग्न हुन नहुन जनस्तरबाट दबाब  बढ्दै गएको छ । उनीहरूले रास्वपाबाट आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने चर्चा भइरहेकाे छ ।

त्यसले गर्दा यी दुई मन्त्रीले कहिले राजीनामा दिन्छन् भन्ने विषय अहिले जनचासोको केन्द्रमा छ। सरकारको विश्वसनीयता र गैरदलीय चरित्र जोगाउने विषयमा अब प्रधानमन्त्री सुशीला कार्की र सम्बन्धित मन्त्रीहरूको निर्णय अर्थपूर्ण हुने छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *