दिलविकासले लिङ्देनसँग ३५ लाखको हिसाब मागे, भने- लिङ्देन राष्ट्रवादी होइनन्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिकतर्फको बन्दसूचीमा मनमौजी गरेको गुनासो पार्टीमा धुँवासरी फैलिएको छ ।
केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले असन्तुष्टि जनाउँदै अध्यक्ष लिङ्देनप्रति गम्भीर प्रश्न उठाएका छन् ।
वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले त विज्ञप्ति जारी गरेरै बिहीबार समानुपातिकको बन्दसूचीप्रति विमति जनाउँदै भने, ‘यहाँ नाटक मञ्चन गर्नेहरूलाई समानुपातिक सूचीमा प्राथमिकता दिएर जाँदा भोलि पार्टीको अवस्था के हुने ? त्यसतर्फ ध्यान गएको छ ?’
उनले पार्टी अध्यक्ष लिङ्देनले समानुपातिक बन्दसूची बुझाउँदा योगदानको लेखाजोखा नगरेको आरोप लगाएका छन् । उनका अनुसार लिङ्देनले पार्टी हितविपरीत जे मन लाग्यो, त्यही गरे ।
‘पार्टीको हितविपरीत गएर जे मन लाग्यो, जसलाई मन लाग्यो त्यसलाई र आफूनिकट जो छ, उसलाई दिने निर्णय गर्ने अधिकार कसले दियो ?’, उनले भने ।
आफूमाथि अन्याय भएको भन्दै चित्त दुखाएका नेता राजभण्डारीले गत निर्वाचनमा दिएको खर्चको हिसाब खोजेका छन् । उनले त्यसबेला ५० लाख खर्च दिएको र त्यसमध्ये फिर्ता लिन ३५ लाख बाँकी रहेको खुलासा गरे । उनले पार्टी कार्यालयको भवनबारे पनि पुनर्विचार गर्ने चेतावनी दिएका छन् ।
‘मैले पार्टीलाई करोडौँ मूल्य बराबरको भवन त दिएकै थिएँ, तत्पश्चात पनि अघिल्लो निर्वाचनमा मैले दिएको ५० लाख रुपैयाँमध्ये ३५ लाख अझैसम्म फिर्ता आएको छैन । म अहिले आएर आफ्नो योगदानप्रति नै पश्चताप गर्दै पार्टीले मप्रति गरेको व्यवहारलाई हेर्दा त भविष्यमा पुनर्विचार गर्नुपर्ने स्थितिमा पुगेको छु,’ उनको भनाइ छ ।
लिङ्देनलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै पार्टीको जिम्मेवारीबाटै अलग हुने संकेत पनि गरेका छन् ।
लिङ्देनले आफूलाई राष्ट्रवादी नेताको रूपमा प्रस्तुत गरेकोमा पनि उनले असहमति प्रकट गरे ।
‘राजा र धर्मको एजेन्डा बोकेको पार्टी, राप्रपाले आफ्नै नेतृत्वमा सबै समान विचार भएका राष्ट्रवादी अभियानहरूलाई समन्वय र सहकार्यको नीति अवलम्बन गर्नुपर्ने हो,’ उनको भनेका छन्, ‘त्यो देखिएन । यो कसैसँग मिल्न नसक्नुलाई राष्ट्रवादी भनिँदैन ।’
नेता राजभण्डारी र अध्यक्ष लिङ्देनबीच पछिल्ला समय सम्बन्ध ठिकठाक छैन ।
