कांग्रेसमा ‘ल्याट्रल इन्ट्री’ देखि समानुपातिकमा एक पटकको सीमा
काठमाडौं । नेपाली कांग्रेसले पार्टी संरचना, उम्मेदवार छनोट र शासन अभ्यासमा दूरगामी प्रभाव पार्ने सुधार प्रस्ताव अघि सारेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री गगन थापाले पेस गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावले पार्टीमा ‘ल्याट्रल इन्ट्री’ को ढोका खोल्नुका साथै समानुपातिक प्रणालीमा दोहोरिने अवसरलाई अन्त्य गर्ने नीति अघि सारेको छ ।
थापाको प्रस्तावअनुसार अब विभिन्न पेशागत तथा व्यावसायिक क्षेत्रमा लामो योगदान दिएका चर्चित र सक्षम व्यक्तिहरूले कांग्रेसको क्रियाशील सदस्यता नलिई पनि निश्चित प्रक्रिया पूरा गरी पार्टीको माथिल्लो संरचना र निर्वाचनमा प्रवेश पाउन सक्नेछन्। यसलाई ‘छड्के प्रवेश’ अर्थात् ल्याट्रल इन्ट्रीको व्यवस्था गरिएको छ । पार्टीका तर्फबाट निश्चित प्रतिशत उम्मेदवार यस्तै पृष्ठभूमिका व्यक्तिबाट बनाउने प्रस्तावसमेत गरिएको छ ।
समानुपातिकमा एक पटक मात्रै अवसर
प्रस्तावको अर्को महत्वपूर्ण पक्ष समानुपातिक निर्वाचन प्रणालीसँग जोडिएको छ । एउटै व्यक्तिले पटक–पटक समानुपातिक सांसद बन्ने परम्पराको अन्त्य गर्न अब एक व्यक्तिले जीवनमा एकपटक मात्र समानुपातिक सांसद बन्न पाउने व्यवस्था गर्ने उल्लेख छ । यससँगै पार्टीका तर्फबाट स्थानीय, प्रदेश र संघीय तहमा राज्यका कुनै पनि जिम्मेवारी वा शासकीय पदको अवधि पनि तोकिने प्रस्ताव गरिएको छ । थापाले पार्टीभित्र सीमित व्यक्तिले बारम्बार अवसर पाउने प्रवृत्तिले संगठन र लोकतन्त्र दुवै कमजोर बनाएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न संरचनागत सुधार अपरिहार्य भएको बताएका छन् ।
संविधान संशोधन र निर्वाचन प्रणाली सुधार
महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रस्तावमा संविधानको मर्म र भावना अनुसार संघीय प्रणालीलाई थप प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन संविधान संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समावेशी र समानुपातिक प्रणालीलाई अझ सुदृढ गर्दै राजनीतिक स्थायित्व सुनिश्चित हुने गरी निर्वाचन प्रणाली परिमार्जन आवश्यक रहेको निष्कर्ष प्रस्तावमा छ । कांग्रेसले संविधान संशोधनका सवालमा प्रमुख राजनीतिक दल र सबै सरोकारवालासँग सघन संवाद र परामर्श गर्ने नीति लिने जनाएको छ । संविधानलाई गतिशील दस्तावेजको रूपमा व्याख्या गर्दै नागरिकको भावना अनुसार समयसापेक्ष संशोधन लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरिएको छ ।
दलीय सुधारका ८ बुँदा
थापाले दलीय सुधारका लागि आठवटा ठोस प्रस्ताव अघि सारेका छन्। तीमध्ये केन्द्रीय सभापतिदेखि सबै तहका पदाधिकारी अनिवार्य रूपमा वडा तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था, पार्टीभित्र आन्तरिक लोकतन्त्रको संस्थागत अभ्यास, समयमै निष्पक्ष आन्तरिक निर्वाचन, र निर्णय प्रक्रियामा महिला, युवा, मधेसी, दलित, मुस्लिम, अपांगता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विषय प्रमुख छन् । त्यस्तै, उम्मेदवार छनोटमा आन्तरिक प्रतिस्पर्धा (प्राइमरी निर्वाचन) लागू गर्ने, डिजिटल मूल्यांकन प्रणालीमार्फत योग्यता र योगदानका आधारमा उम्मेदवार सिफारिस गर्ने, प्रत्येक तहमा कम्तीमा एक तिहाइ महिला सहभागिता अनिवार्य गर्ने प्रस्ताव पनि समेटिएको छ ।
संसद र नागरिक सहभागिता सशक्त बनाउने लक्ष्य
प्रस्तावमा शासन प्रणालीमा नागरिक सहभागिता विस्तार गर्न सार्वजनिक नीति निर्माणअघि सार्वजनिक सुनुवाइ, नागरिक संवाद र डिजिटल परामर्शको व्यवस्था गर्ने उल्लेख छ । साथै सार्वभौम संसदलाई नीति निर्माण र निगरानीको सशक्त केन्द्रका रूपमा विकास गर्ने, संसदीय समितिलाई अध्ययन र तथ्यमा आधारित निर्णय गर्ने संस्थाका रूपमा सबल बनाउने नीति लिइनेछ । गगन थापाको प्रस्तावले नेपाली कांग्रेसलाई नयाँ नेतृत्व संस्कृति, खुला प्रतिस्पर्धा र समावेशी लोकतन्त्रतर्फ उन्मुख गराउने प्रयासका रूपमा हेरिएको छ । महाधिवेशनबाट यी प्रस्ताव पारित भए कांग्रेसको आगामी राजनीतिक यात्रामा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।
