राजनीतिमा रहस्यमय बालेन, प्रधानमन्त्रीकाे महत्वकांक्षा चुनौतिपूर्ण
काठमाडौं । कालो लुगा र कालो चस्माबाट आफूलाई ब्रान्डिङ गरेका र्यापर बालेन शाह २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर बन्दै गर्दा धेरैका लागि रहस्यमयी थिए । गत भदौ २३ र २४ को जेन-जी विद्रोहपछि राष्ट्रिय राजनीतिको केन्द्रमा तानिएका उनी अहिले पनि त्यस्तै छन् ।
रहस्मय रहन सक्नु नै बालेनको शक्ति हो । यही उनको कमजोरी पनि हो । रहस्यमय रहने रणनीतिले नै आज बालेनले समर्थक, आलोचक र विरोधी आर्जन गरेका छन् । आज यस्तो लाग्छ कि त बालेनका समर्थक छन्, कि विरोधी तर अब बालेनलाई बेवास्ता गर्न सम्भव छैन ।
यही शक्ति र कमजोरीको झोला बोकेर देशको सबैभन्दा ठूलो महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर आज सिंहदरबार हाँक्ने सपना बोक्दै घण्टीघर प्रवेश गरेका छन् ।
कतिपयलाई आशा छ, उनले भ्रष्टाचार र बेथितिमाथि लौरो चलाउँछन् । कतिपयलाई शंका छ, उनले देशै भड्खालोमा हाल्दिने हुन् कि !
गत भदौ २३ र २४ मा सडकमा आक्रोश थियो । २३ गते प्रहरीको गोली लागि १९ जना नवयुवा मारिएपछि प्रदर्शनकारीको आक्रोश प्रधानमन्त्री ओलीमाथि खनियो । भदौ २४ मा ओलीले राजीनामा गरेपछि सबैलाई लाग्यो- आन्दोलनमा उत्रिएको युवापुस्ताले बालेनले आग्रह गरेपछि सुन्छन्, मान्छन् । सामाजिक सञ्जालदेखि मिडियासम्म बालेन खोज्न थाल्यो।
आन्दोलनमा उत्रिएका धेरैले बालेन प्रधानमन्त्री भइदिउन् भन्ने चाहेका थिए । कतिले ‘नाउ अर नेभर’ भन्दै २ बजेसम्मको अल्टिमेटम नै दिएर म्यासेज पठाए । तर, बालेनले त्याे म्यासेज कहिले हेरे थाहा छैन, उनी फोन अफ गरेर बसेका थिए ।
उनले हतारिएर, आन्दोलनको बुइ चढेर होइन, चुनाव जितेर प्रधामन्त्री बन्ने सुर कसे । प्रधानमन्त्रीमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे र उनलाई समर्थन गर्न आन्दोलनकारी युवा पुस्तालाई आग्रह पनि गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित प्रधानमन्त्री बनाए । चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलकै माझ चुनावी तयारी अघि बढिरहेको छ । नेपाली कांग्रेसको विभाजनले चुनाव तोकिएकै मितिमा हुन्छ कि हुन्न भन्ने आशंका त बढाएकाे छ तर प्रत्यक्षतर्फका उम्मेदवार तोक्ने दिन नजिकिँदै जाँदा चुनावी माहोल काठमाडौंबाट गाउँ र शहरतिर ओर्लिरहेको छ । मतदानको दिन आउन ठिक डेढ महिना बाँकी छँदा महानगरको मेयर छोडेर उनी प्रधानमन्त्री बन्ने महत्वकांक्षासहित रास्वपा पार्टी कार्यालय प्रवेश गरे । तर, उनको यो महत्वकांक्षी यात्रा त्यत्तिकै चुनौतिपूर्ण छ ।
उनको पहिलो चुनौति त जुन जेन-जी आन्दोलनले उनलाई शक्ति दियो, त्यही आन्दोलनले उनलाई ‘षडयन्त्रको मास्टरमाइन्ड’ पनि बनाएको छ । संसद् भवनदेखि सिंहदरबारसम्म जलाउने षडयन्त्र बनाएको मात्रै होइन, युवा-विद्यार्थीलाई उकासेर आन्दोलनमा पठाएकोसम्म आरोप उनीमाथि छ । यस्तो आरोपलाई आधार दियो-विगतमा आफैंले लेखेको सिंहदरबार जलाइदिन्छु भन्ने स्टाटसले । उनले जनताको मत जित्न पहिले यो आरोपको चित्तबुझ्दो जवाफ दिनुपर्ने छ ।
बालेनको राजनीतिक यात्रा सांगठनिकभन्दा पनि व्यक्तिगत भयो । कुनैबेला आफैं उम्मेदवार भएपछि आफैंलाई मात्र भोट हाल्छु, अरूमाथि विश्वास छैन भनेका बालेन २०७९ सालको स्थानीय निर्वाचनमा आफैं काठमाडौं महानगरको मेयरको उम्मेदवार बने । चुनावी अभियानमा सधैं म नभनेर हामी भने पनि उनी एक्लै चुनावी मैदानमा थिए । उनलाई सहयोग गर्ने टिम थियो- तर उनका अरू उम्मेदवार थिएनन् । बाँकी पुरानै दलका प्रतिनिधिहरूले भरिएको महानगर टिमको शीर्ष स्थानमा उनी एक्लो स्वतन्त्र व्यक्ति थिए ।
नेपालको राजनीतिक व्यवस्थामा एक्लै मेयर हुन सकिन्थ्यो, प्रधानमन्त्री हुन सम्भव थिएन । यसलाई चाहिन्थ्यो पार्टी, जुन उनीसँग थिएन । उनले मेयर जितेपछि हौसिएर पार्टी खोलेका सञ्चारकर्मी रवि लामिछानेको पार्टीले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भयो । यही बाटो उनी घण्टी घर पुगेका हुन् ।
राष्ट्रिय राजनीतिमा आइसकेपछि उनले राजनीतिक प्रश्नहरूको जवाफ दिनुपर्ने छ । महानगरको मेयर बन्न उनले विकास-निर्माण र सेवा-प्रवाहबारे मात्रै आफ्नो धारणा राखे पुग्थ्यो, देशकै नेतृत्व गर्ने महत्वकांक्षा राखेपछि उनले राजनीतिक प्रश्नहरूको सामना गर्नुपर्ने छ । रास्वपासँग एकता गर्दैगर्दा जेन-जी अगुवा रक्षा बमले उनलाई जसरी संविधानबारे प्रश्न गरेकी थिइन्, त्यस्ता प्रश्नहरू बारम्बार सामना गर्नुपर्ने छ ।
आजसम्म राजनीतिक मुद्धामा मौनता उनको शक्ति थियो, अब त्यो सुविधा उनलाई रहने छैन । जेनजी आन्दोलनसम्म उनलाई राजावादीदेखि हिन्दुराष्ट्र पक्षधरसम्मले आशाको नजरले हेरिरेका थिए । उनीहरू त्यसबैलादेखि बालेनसँग निराश छन् । राजनीतिक मुद्धामा उनले आफू यही संविधानको पक्षमा रहेको बताउन गरेको छनक पाइन्छ । यदि त्यस्तो हो भने नेपाली समाजको परम्परावादी मत उनले गुमाउने छन् । यदि, प्रतिगामी मुद्धाकै पक्षमा उभिए भने त त्यसले उनलाई झन् कमजोर बनाउने छ । जब उनी खुल्दै जान्छन्, उनको रहस्यको शक्ति घट्दै जान्छ ।
रास्वपाले उनलाई आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको हो, प्रधानमन्त्री बनाएको होइन। प्रधानमन्त्री हुन उनले सबैभन्दा पहिले त चुनाव जित्नुपर्ने हुन्छ । त्यो पनि झापा-५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न तम्सिएका बालेनलाई सांसद बन्न नै फलामको चिउरा चपाउनुसरह कठिन काम छ । तीन/तीन पटक प्रधानमन्त्री भइसकेका र देशको सबैभन्दा ठूलामध्ये एक दलको प्रमुखलाई राजनीतिको नयाँ खेलाडीले हराउनु चानचुने कुरा होइन । अर्कातिर, चुनावमा आफ्नो भूगोल, पारिवारिक सम्बन्ध र स्थानीयसँगको सम्पर्क पनि महत्वपूर्ण हुन्छ । महोत्तरीमा जन्मिएर काठमाडौंमा हुर्किएका बालेनलाई झापामा यी सुविधा प्राप्त हुने कुरै भएन । बरू, ओलीसँग भएका यी फाइदासँग पनि जुध्नुपर्ने हुन्छ ।
उनले चुनाव जितिहाले भने पनि प्रधानमन्त्री बन्न रास्वपाले बहुमत ल्याउनु वा सबैभन्दा ठूलो पार्टी हुनुपर्छ, अनि रास्वपाले उनलाई संसदीय दलको नेता बनाउनुपर्छ । अहिले रास्वपाभित्र अधिकांश उम्मेदवार रवि लामिछानेका समर्थक र प्रशंसक उम्मेदवार बन्दै छन् । सम्पत्ति शुद्धीकरण र सहकारी ठगिका मुद्धामा फिर्ताको बाटोमा अघि बढेपछि अब रवि आफैं प्रधामन्त्री बन्न योग्य हुनेछन् । यसपछि रविले आफैं प्रधामन्त्री बन्ने आकांक्षा नराख्लान् भन्ने ग्यारेन्टी छैन ।
यी चुनौति पार गरेर बालेन बन्लान् त प्रधामन्त्री ? यसको जवाफ त समयमै चुनाव भए फागुन अन्तिम साता पाइएला ।
तर, अर्को प्रश्न बाँकी नै छ, उनी प्रधानमन्त्री बनेर गर्ने चाहिँ के हो ?
